कुन देशबाट कति नेपालीको उद्धार गरिदैंछ ? यस्तो छ सरकारको तयारी

काठमाडौं : सरकारले विदेशमा अलपत्र परेका नेपाली श्रमीकलाई उद्धार गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ । विभिन्न मुलुकमा रहेका नेपाली दूतावासले तयार पारिरहेको विवरणका आधारमा सरकारले दैनिक ३ हजार ५ सय कामदार स्वदेश फर्काउने गरी गृहकार्य गरिरहेको हो ।

कोरोनाका कारण वैदेशिक रोजगारीका प्रमुख ७ गन्तव्य राष्ट्रबाट मात्रै करिब ४ लाख ७ हजार कामदार स्वदेश फर्कन चाहेको सरकारले जनाएको छ । तीमध्ये पनि २५ हजार तत्काल उद्धार गर्नुपर्ने अवस्थामा छन ।

सरकारको प्रारम्भिक अध्ययनले करिब ८५ प्रतिशत कामदार रहेका रोजगारीका प्रमुख ७ गन्तव्य मुलकबाट मात्र ४ लाख ७ हजार कामदार स्वदेश फर्कन चाहेको देखाएको छ ।

सरकारले विभिन्न देशमा रहेका दुतावासमार्फत नेपाल फर्कन चाहने कामदारको विवरण संकलन गरेको थियो । जसमा कतार, यूएई, साउदी अरब, कुवेत, बहराइन, ओमान र मलेसियाबाट मात्र ४ लाखभन्दा बढी कामदार फर्कन चाहेका छन ।

तत्काल उद्धार गर्नुपर्ने अवस्थामा कतारमा ७ हजार ५ सय, मलेसियामा ७ हजार, साउदीमा २० हजार र युएईमा १२ हजार कामदार छन् । यस्तै, कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार ५ सय र ओमानबाट ५ सय कामदारलाई तत्काल उद्धारको आवश्यक्ता छ ।

यीमध्ये पनि २ लाख ८० हजार कामदार लकडाउन खुल्ने दिनको प्रतिक्षामा छन् भने १ लाख २७ हजार कामदार तत्काल फर्कन चाहन्छन् । तर आममाफी पाएका, भिसा अवधि सकिएका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, बिरामी लगायतलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छ ।

यसरी ५९ हजार ५ सय जनालाई तत्काल उद्धार गर्नुपर्ने भएपनि रोजगारदाता मुलुकको फरक नीतिका कारण सरकारले २५ हजारलाई तत्काल उद्धार गर्ने गरी तयारी थालेको छ । कामदार फर्काउन नेपाल एयरलाइन्सका जहाज प्रयोग गर्ने र त्यसरी सम्भव नभए विदेशी विमानसमेत चार्टर्ड गर्ने योजना सरकारको छ ।

घर फर्काइनेको सूची सम्बन्धित दुतावासमार्फत परराष्ट्र मन्त्रालयले संकलन गरिरहेको छ । यसरी फर्किएका नागरिकलाई दुई साता काठमाडौंमै राख्ने र त्यसपछि कोरोना परीक्षण गरेपछि आ–आफ्नो जिल्ला पठाइनेछ । दुई हप्ता काठमाडौंमा बस्न सरकारले होटल र सार्वजनिक क्वारन्टिनको व्यवस्था गर्नेछ । क्वारन्टिनको व्यवस्था सरकारले गर्नेछ भने होटलमा बस्ने कामदारले आफैंले खर्च व्यर्होनु पर्नेछ ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार ०८:५६