टेक्सस : गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा सेप्टेम्बर २६ शनिबार राष्ट्रिय महिला सम्मेलन हुँदैछ । एनआएनए अमेरिकाको इतिहासमै पहिलो पटक हुन लागेको महिला सम्मेलनको तयारी पूरा भएको छ ।
गैर आवासीय नेपाली संघ अमेरिकाका महिला संयोजक दिक्षा बस्नेतका अनुसार सम्मेलनमा महिला सशक्तीकरण, प्रवासमा नेपाली महिलाको अवस्था, एनआरएन अभियानमा महिला, एनआरएनए अभियानमा युवाको सहभागिता र अवस्था, एनआरएनएमा महिलाको सहभागिता हिजो, आज र भोलि जस्ता तमाम राष्ट्रिय, अन्तर्राष्ट्रिय र एनआरएन अभियानसँग अन्तर सम्बन्धित विषयमा छलफल हुनेछ । सम्मेलनका क्रममा हुने विभिन्न विषयगत सेमिनारका लागि विषयगत विज्ञहरूको पेनालिष्टको रूपमा रहनुहुनेछ ।
सम्मेलनको क्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, गैर आवासीय नेपाली संघ आइसिसीका अध्यक्ष कुमार पन्त, बागमती प्रदेशको पहिलो गभर्नर तथा समाजसेवी अनुराधा कोइराला, अधिकार कर्मी तथा संयुक्त राष्ट्र संघ अन्तर्गत जनसंख्या कोषको उच्चस्तरीय आयोग सदस्य एवं राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरूपण समितिकी उपाध्यक्ष बन्दना राणा वक्ताको रुपमा हुनुहुन्छ ।
त्यस्तैगरि, सम्मेलनमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापा, महिला संयोजक भोमा लिम्बु, निवर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, निवर्तमान सचिव जानकी गुरुङ, अमेरिकाज क्षेत्रिय महिला संयोजक उमा कार्की लगायत महिला अधिकारकर्मीहरू, एनआरएनए अभियानसँग जोडिएका अभियन्ताहरू एवं अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ ।
गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनील साहले महिला वर्गको सम्मान, समान सहभागिता र महिला सशक्तीकरणको लागि सम्मेलन फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।
अध्यक्ष साहले संघको आयोजनामा हुने हरेक कार्यक्रमहरूमा महिलाको प्रभावकारी सहभागिता र उपस्थिति प्रति संघ सधैँ गम्भीर रहँदै आएको बताउँदै गत जुलाई ३, ५ सम्म सम्पन्न संको बार्षिक साधारण सभा पस्चात एनसिसी अमेरिकाको आयोजनामा यो दोश्रो ठुलो सभा रहेको पनि जानकारी गराउनुभयो ।
प्रकाशित | ९ आश्विन २०७७, शुक्रबार २०:१८