कोरोनाविरुद्धको खोप आजदेखि, प्रधानमन्त्री ओलीले अभियानको शुभारम्भ गर्नुहुँदै

काठमाडौंँ । नेपालमा आज बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु गरिर्दैछ । खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको एक विशेष समारोहबीच शुभारम्भ गर्दै हुनुहुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार चार लाख ३० हजारलाई पहिलो चरणमा खोप लगाइने जानकारी दिनुभयो । कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ खोप सातै प्रदेशमा पहिलो चरणमा लगाइने र पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने उहाँले बताउनुभयो ।

नेपालले भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन खोप लगाउन लागेको हो । उक्त खोप भारतमा आपत्कालीन प्रयोगका लागि स्वीकृत भई खोप लगाउन थालिएको छ । नेपालमा पनि आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागबाट स्वीकृति भएर लगाउन सुरु गरिँदैछ ।

विभागले आपत्कालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृति दिएको थियो । खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ भने यो खोप तयारी झोल अवस्थामा उपलब्ध छ ।


प्रकाशित | १४ माघ २०७७, बुधबार ०८:४६