मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन

हङकङ:  मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने स्टान्ले हो ९८ वर्षका हुनुहुन्थ्यो ।

अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उहाँले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेल्नु भएको थियो ।

उहाँ पूर्व पोर्चुगाली उपनिवेश मकाउकै सर्वाधिक धनी व्यक्ति हुनुहुन्थ्यो । उहाँको चीन र हङकङमा समेत ठूलै प्रभाव थियो, तर अमेरिकी अधिकारीहरुका अनुसार स्टान्लेको सम्बन्ध र सम्पर्क संगठित अपराधी समूहसँग पनि रहेको थियो । अग्ला, निकै आकर्षक र चिनियाँ तथा युरोपेली शैली सम्मिश्रण भएका स्टान्लेका चार जना पत्नीबाट १७ जना छोराछोरी जन्मेका थिए । एजेन्सी


प्रकाशित | १३ जेष्ठ २०७७, मंगलवार १७:४३