नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने भएको छ । पटकपटक स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउनेबारे छलफल हुने जनाइएको छ ।

यस्तै मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि छलफल हुनेछ । हिजो पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हाल खाली रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने सहमती जुटेकाले सो विषयमा छलफल हुनेछ ।

आजको बैठकमा खाली रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालयमा पठाउने व्यक्तिको बारेमा छलफल हुनेछ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।


प्रकाशित | २० आश्विन २०७७, मंगलवार १०:२४