नेपालमा दुई करोड १७ लाखलाई खोप आवश्यक पर्ने, खोप ल्याउन सबै प्रयास जारी

काठमाडौँ  । नेपाल यतिबेला कोरोना भाइरसको दोस्रो लहरको सङ्कटसँग पौँठेजोरी खेलिरहेको छ । नेपालको संविधानले मौलिक हकका रूपमा सहज जीवन अधिकारसँग सम्बन्धित धेरै प्रकारका हक नागरिकलाई प्रदान गरेको छ । सोहीअनुसार सङ्कटका घडीमा नेपाल सरकार कोरोना सङ्क्रमणबाट जनताको जीवनरक्षाको विविध उपायका लागि प्रयास पनि गरिरहेको छ ।

कोरोनाविरुद्धको खोप नागरिकको जीवनरक्षाकोे भरपर्दो र दीर्घकालीन कवच बनेको छ । नेपालका सबै नागरिकका लागि खोप उपलब्ध गराउन सरकारले प्रत्यक्ष–अप्रत्यक्ष सबै पहल जारी राखेको छ । यति धेरै प्रयासका बाबजुद पनि सरकारले खरिद गर्न रकम तिरेको खोप पनि नेपाल भित्रन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

छिमेकी मुलुक भारतसँग २० लाख मात्रा खोप खरिदको प्रक्रिया पूरा भए पनि १० लाख मात्रा खोप मात्र आयो । भारतको सर्वोच्च अदालतले आफ्ना नागरिकको जीवन नै सङ्कटमा परेका बेला खोपलगायतका अत्यावश्यक सामग्री निर्यात नगर्न त्यहाँको सरकारलाई आदेश दिएपछि नेपालको १० लाख मात्रा खोप उतै अड्केको हो । यद्यपि खोप निर्यातमा अब भारत उदार भएको देखिएको छ ।

अन्य विभिन्न मित्रराष्ट्र मुलुकसँग खोपका लागि अनुरोध गरे पनि चीनबाहेकका मुलुकले खोप उपलब्ध गराउन सकेका छैनन् । भारत सरकारले अनुदानमा दिएको १० लाख मात्रा र नेपालले खरिद गरेको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाल आएको थियो । त्योबाहेक चीन सरकारका तर्फबाट दुई चरणमा गरेर २० लाख मात्रा भेरोसिल खोप नेपाल आइसकेको छ ।

कोभ्याक्स सुविधाको केही मात्रा खोप पनि यस अवधिमा आएको थियो । खोप नआएकै कारण पहिलो मात्रा लगाएकाले समेत दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले भन्नुभयो, “घोषणा धेरै भयो, खरिद गरेकै खोप नआउँदा हामी पनि अन्योलमा छौँ, त्यसैले खोप नआएसम्म उसले यति दियो उति दियो भन्ने अवस्थामा हामी छैनौँ ।”

उहाँका अनुसार मन्त्रालयले कोभ्याक्स सुविधासहित खोप दिन्छु भनेर घोषणा गरेका मुलुकसँग तारन्तार अनुरोध गरिरहेको छ । कोरोनाको पहिलो लहरले हल्का मात्र छोएको नेपालीलाई दोस्रो लहरको भाइरसले निकै आक्रान्त पारेको छ । खोप लगाउन नपाउँदा सङ्क्रमणको दर न्यून हुने सम्भावना निकै कम रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको खोप महाशाखा प्रमुख डा. झलक गौतम बताउनुहुन्छ । खोप नआएकै कारण महाशाखाको काम पनि ठप्प बनेको छ । उहाँका अनुसार नेपालमा खोप लगाउनुपर्ने कुल जनसङ्ख्या दुई करोड १७ लाख हो । तीमध्ये सात लाखले दोस्रो मात्रा लगाइसकेका छन् । अन्य २५ लाख जनसङ्ख्याले पहिलो मात्रा खोप मात्र लगाएका छन् ।

खोप नआएको अवस्थामा सङ्क्रमण केही नियन्त्रणमा आउँदा बन्दाबन्दी हलुका बनाउनु र बढेको खण्डमा कडा बन्दाबन्दी गर्नुको विकल्प सरकारसँग छैन । यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | १४ असार २०७८, सोमबार ०८:३७