कोपनहेगन (डेनमार्क ) : नेपाल सरकारले नयाँ नक्सा जारी गरेकोमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्कले सरकारी निर्णयको स्वागत गर्दै उच्च प्रशंसा गरेको छ । एनआरएनए डेनमार्कले एक बिज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको मिचीएको भूभाग समेटेर नयाँ नक्सा जारी गर्नु स्वागतयोग्य कदम भएको जनाएको हो ।
एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खडकाले सरकारले ऐतिहासिक निर्णय गरेकोमा खुसी ब्यक्त गर्दै सरकारलाई दरिलो साथ र समर्थन रहने प्रतिबद्वता पनि ब्यक्त गर्नुभयो । यस्तो छ बिज्ञप्तिको भाव:-
प्रवासमा रहने नेपालीहरू दुनियॉको सामु गौरव गर्ने बिशेष पहिचान यो पनि हो की नेपाल संसारका अति सिमित देशहरु मध्यको एक हो जो कसैले पराधिन हुन परेन, कसैको उपनिवेश बन्नु परेन, स्वतन्त्रता दिवस मनाउन पर्दैन, सदा स्वतन्त्र नै रहेकोले कसैबाट स्वतन्त्र घोषित भईरहन जरुरी पनि थिएन । कुनै बेला विश्वमा झण्डै एक छत्र प्रभुत्व कायम गरेको ब्रिटिश साम्राज्य र चिनियॉ साम्राज्यलाई रणभूमी टक्कर दिएर नेपालको वर्तमान सिमाको चौघेरा तय भएको हो । तर अफसोच बेलायती उपनिवेशबाट मुक्त भएको भारतका शासकहरुले शताब्दिऔँ सम्म पनि पराधिन बन्न परेको कुण्ठा नेपाल लगायत आफ्ना आर्थिक सामरिक रुपमा कमजोर छिमेकी माथि पोख्ने गरेका छन।
त्यसैको फलस्वरुप नेपालको भुभागको विभिन्न खण्डमा अतिक्रमण र ज्यादती हुने गरेका समाचारहरू आईरहन्छन । नेपालको उत्तर पश्चिम क्षेत्र कालापानीमा भारतीय सेनाको क्याम्प रहेको र अघिल्लो बर्षमात्र कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुभागलाई भारत सरकारले एक तर्फि नक्शा राखेकोमा संसार भर रहने नेपालीहरुलाई क्षुब्ध तुल्याएको थियो । त्यसै बिच नेपाली भुभाग हुदै भारतले अनधिकृत रुपमा सडक निर्माण गरी उदघाटन गरेको खबरले थप उद्देलित तुल्याएको थियो । भारतले नेपाली भुभाग कब्जा जमाउदै जाने तर विगतका शासकहरु निहित स्वार्थवश मौन साधना गर्ने गरेकोमा नेपालको वर्तमान सरकारले देशको सम्पूर्ण भुभागलाई आधिकारिक नक्शामा समेटेर अतिक्रमणको सशक्त प्रतिवाद गरेको छ।
नेपालको पश्चिमी सिमाना महाकाली नदीको मुहान लिम्पियाधुराको भुभाग छुटाएर भारतले बनाई दिएको नक्शालाई प्रमाणिक मान्ने विगतको कमजोरीलाई सच्चाएर नेपालीहरुको आत्मसम्मानको रक्षा गरेकोमा वर्तमान नेपाल सरकार प्रति हार्दिक धन्यवाद सहित उच्च प्रशंसा गर्न चाहन्छौ ।
साथै नेपाल र नेपालीको स्वाभिमान, आत्मसम्मान र गौरवमा ऑच नपुग्ने गरी सिमा समस्याहरु वार्ता तथा कुटनैतिक माध्यमबाट समाधान होस भन्ने कामना गर्दछौँ । यस्ता सत्प्रयासहरुमा प्रवासी एवं गैरआवासीय नेपालीहरुको नेपाल सरकारलाई सधैँ दरिलो साथ र समर्थन रहने प्रतिबद्वता जाहेर गर्दछौँ । धन्यवाद
एनआरएन, डेनमार्क
प्रकाशित | १३ जेष्ठ २०७७, मंगलवार १३:१३