रुसबाट तेल आयात बन्द गर्ने अमेरिका र बेलायतको घोषणा

काठमाडौं– युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट तेल आयात बन्द गर्ने अमेरिकाले घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसबाट तेल आयात नगर्ने घोषणा गर्नुभएको हो ।

पछिल्लो कदमले घरेलु मामिलामा पनि असर पर्ने स्वीकार गर्दै बाइडनले साझेदारहरुसँगको सल्लाहमै निर्णय लिइएको बताउनुभयो । अमेरिकी राजनीतिक वृत्तका दुबै रिपब्लिकन र डेमोक्र्याटिक पार्टीले युक्रेनमा आक्रमण गरेको दण्ड दिन रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउन बाइडनमाथि दबाब दिँदै आएका थिए ।

यता अमेरिकासँगै बेलायतले पनि रुसी उर्जाको आयात विस्तारै बन्द गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बेलायतले यही वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात पूर्ण रुपमा कटौती गर्ने घोषणा गरेको हो ।

अमेरिकाले रुसबाट आफ्नो खपतको ८ प्रतिशत तेल आयात गर्दै आएको छ भने बेलायतले रुसबाट ६ प्रतिशत तेल आयात गर्छ । रुसी तेलको विकल्पमा अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग सहकार्य गर्न लागेको बीबीसीले जनाएको छ ।


प्रकाशित | २५ फाल्गुन २०७८, बुधबार ११:५१