प्रचण्डलाई पाकेको धानमा असिना वर्षाएर एकता भंग नगर्न महेश बस्नेतको चेतावनी

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाकेको धानमा असिना वर्षाएर एकता भंग गर्दै बिखण्डन र बिध्वंसको पात्र नबन्न सुझाव दिनुभएको छ ।

नेकपा भित्र आन्तरिक विवादका कारण पार्टी एकता नै भंग हुने अवस्था सिर्जना भइरहेको प्रसंगलाई कोट्याउँदै सांसद बस्नेतले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताको सहकार्य र सहमतिको कार्यदिशा अनुसार अगाडी बढ्न आग्रह गर्नुभयो । आगामी चैत्र २५–३० सम्म एकताको महाधिवेशन गरी सवैको नेता बन्न अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डको हातमा आगामी दिनमा दुईवटा बाटो रहेको उल्लेख गर्दै सांसद बस्नेतले एकताको महाधिवेशन गरी पार्टी एकतालाई बचाउने कि ४ महिना अघि नै पाकेको धानमा असिना वर्षाएर एकता भंग गर्दै विखण्डन र विध्वंसको पात्र बन्ने रु भनि अध्यक्ष प्रचण्डलाई प्रश्न गर्नुभयो ।

पार्टीभित्रको राम्रो अवस्था सिर्जना गर्न नयाँ पुस्ता व्यापक प्रयास गर्ने उल्लेख गर्दै सांसद बस्नेतले पार्टी भित्र नराम्रो अवस्था आएमा पनि त्यसको सामाना गर्न नयाँ पुस्ता तयार रहेको समेत चेतावनी दिनुभयो ।

उहाँले आफ्नो सामाजि सञ्जालमा लेख्नुभएको छ, ‘एमाले र माओबादी एकता पछी बनेको नेकपाको सहकार्य र सहमतिको कार्यदिशा तोकेको चैत्र (२५(३०) मा महाधिवेशन गरेर पार्टीलाई बचाउने र सबैको नेता बन्ने कि ४ महिना अघि नै पाकेको धानमा असिना वर्षाएर एकता भंग गर्दै बिखण्डन र बिध्वंसको पात्र बन्ने कम्रेड प्रचण्डको हातमा निर्णय छ । दोस्रो बाटो रोजेमा प्रचण्ड कमरेडसंगै धेरैको राजनीति धरापमा पर्ने छ । मुलुक र कम्युनिष्ट आन्दोलनलाई पुन यो ठाउँमा ल्याउन धेरै रगत र पसिना बगाउन पर्दछ । नयाँ पुस्ता राम्रो अबस्थाको लागि व्यापक प्रयास गर्दछ । नराम्रो अवस्था आएमा पनि सामना गर्न तयार छ ।’

अध्यक्ष प्रचण्डले बहुमतको आडमा प्रधानमन्त्री तथा पार्टीको प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट हटाई आफुले पार्टी तथा सरकार कब्जा गर्ने रणनीति अपनाउनुभएको आम नेकपाका कार्यकर्ताहरुले उल्लेख गरिरहेका छन् । नेकपाको विधानमा भने कुनै पनि निर्णय बहुमत तथा अल्पमतको नभई सहमति र सहकार्यको माध्यमबाट मात्र गर्न पाईने वा वैध हुने भनि उल्लेख गरेको छ ।

तर कार्यकारी अध्यक्ष प्रचण्डले विधानलाई समेत लत्याउँदै प्रधानमन्त्री माथि संगिन, कपोकल्पीत, भ्रामक, तथ्यहिन आरोपहरु लगाई पार्टी तथा सरकारको साख गिराउने कार्य गरेको भन्दै नेकपाकै कार्यकर्ताहरु आक्रोस जनाइरहेका छन् । त्यती मात्र नभई प्रचण्डले आफुले गरेका भ्रष्टाचार, अनियमितता तथा गैर कानुनी गतिविधिहरु समेत जनताको माझमा छर्लङ्ग भएर जाने र कानुनी कारवाहीको भागिदार हुनुपर्ने अवस्था सिजर्ना भएका कारण प्रधानमन्त्री केपी ओलीलाई दुवै पदबाट हटाउने घृणीत कार्य गर्नुभएको आम नेपाली जनाताको बुझाई रहेको छ ।


प्रकाशित | १८ मंसिर २०७७, बिहीबार ०९:५४