कोरोना परीक्षणको दायरा फराकिलो बनाइँदै, पछिल्लो २४ घण्टामा ७ हजार ३६ जनाको परीक्षण

काठमाडौं: सरकारले कोरोना परीक्षणको दायरा फराकिलो बनाइँदै लगिएको छ । । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ७ हजार ३६ जनाको नमूना परीक्षण भएको छ। ३ हजार ४ सय १३ जनाको पिसिआर र ३ हजार ६ सय २३ जनाको आरडिटिबाट गरी ७ हजार ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुने नमूनाको संख्या १ लाख १७ हजार ४ सय ३१ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । ३८ हजार ७ सय ३६ जनाको पिसिआर र ७८ हजार ६ सय ९५ जनाको आरडिटिबाट परीक्षण भएको हो।

नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने मृतकको संख्या तीन पुगेको छ। संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला छन्।

बिहिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना उपचारपछि डिस्जार्च भएका छन्। यो सँगै नेपालमा डिस्जार्च हुनेको संख्या ४९ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ। मुलुकभर हाल २५ हजार ३० जना क्वारेन्टाइनमा छन्।


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार १७:२४