महिला ओलम्पिकको एशिया छनोट नेपालमा हुने

काडमाडौँ -पेरिसमा हुने ओलम्पिकका लागि महिला फूटलबको एशिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।

पहिलो चरणको छनोट प्रतियोगिता नेपालमा हुने तय भएको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ। प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिएपछि समूह ‘सी’ को छनोट प्रतियोगिता नेपालमा गर्ने एएफसीले तय गरेको हो।

प्रतियोगितामा नेपालले पहिलो चरणमा भियतनाम र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता आगामी चैत २० देखि २८ गतेसम्म हुनेछ।

पहिलो चरणको समूह विजेता टोली दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछ। उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया दोस्रो चरणमा पुगिसकेका छन्।

दोस्रो चरणमा तीन समूहमा विभाजित गरेर प्रतिस्पर्धा गराइनेछ। दोस्रो चरणमा तीन समूहका विजेता टोली र उपविजेतामध्ये उत्कृष्ट टोली तेस्रो चरणमा प्रवेश गर्नेछ।

तेस्रो चरणको छनोट प्रतियोगिताबाट उत्कृष्ट दुई टोली सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकका लागि छनोट हुनेछन्।


प्रकाशित | १४ फाल्गुन २०७९, आईतवार २०:००