बेलायतमा १३ सय नेपाली कोरोना संक्रमित, ६४ को मृत्यु, अन्य अधिकांश निको भए

लण्डन : एनआरएनए यूकेले बेलायतमा झण्डै १३ सय जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कोरोना भाइरसको महामारीबाट प्रभावित बेलायतका नेपालीहरुसम्बन्धी पछिल्लो तथ्यांक सार्वजनिक गर्दै एनआरएनएले बेलायतमा झण्डै १३ सय जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको जनाएको हो ।

एनआरएनएका अनुसार अहिलेसम्म संक्रमित कुल १२ सय ९८ छन् । जसमध्ये करिब साढे ११ सय जना निको भइसकेका छन् ।

कोरोनाको संक्रमणका कारण उपचारका लागि बेलायतको अस्पतालमा भर्ना हुने नेपालीको जम्मा संख्या १ सय ४० छ । जसमध्ये ६४ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

१५ जना संक्रमित नेपाली अझै पनि उपचारका लागि अस्पतालमै छन् भने बाँकी ६१ जना निको भएर घर फर्किएका छन् ।

संक्रमणपछि घरमै आइसोलेसनमा बसेकाहरुको संख्या ११ सय ५८ छ । उनीहरुमध्ये १ हजार ८५ जना निको भइसकेका छन् भने ७३ जना अहिले पनि आइसोलेसनमै छन् ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइन र देशैभर छरिएका आफ्नो कार्यसमितिका पदाधिकारीको सहयोगमा तथ्यांक संकलन गरेको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले जानकारी गराउनुभयो।


प्रकाशित | ६ जेष्ठ २०७७, मंगलवार ०८:४८