एक महिनाभित्र फोहोर व्यवस्थापन बन्चरेडाँडामा

काठमाडौँ । एक महिनाभित्र काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ‘ल्यान्डफिल साइट’मा व्यवस्थापन हुने भएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले भन्नुुभयो, ‘‘अबको एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिइसकेको छ, यो सम्भव छ ।’’ यस साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ ।

मन्त्री श्रेष्ठले गोरखापत्रसँग कुरा गर्दै मङ्सिर १५ गतेभित्र उक्त ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन कार्य सुरु हुने गरी काम सम्पन्न गर्न निर्माण कम्पनीलाई स्पष्ट निर्देशन दिइएको बताउनुभयो । त्यसका लागि आवश्यक निगरानी र अनुगमन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

‘‘बन्चरेडाँडा ल्यान्डफिल साइटबारे प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण भएको छ, यो विषयमा सम्बन्धित पक्ष गम्भीर हुनैुपर्छ,’’ उहाँले भन्नुभयो, ‘‘यो बोली सरकारको हो, अब मङ्सिर १५ भित्र जसरी पनि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन हुनैपर्छ ।’’

उक्त साइटको निरीक्षणमा पुग्नुभएका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिनुभयो । प्रधानमन्त्री केपी ओलीले केही दिनभित्रै फोहोर विसर्जन गर्न मिल्नेगरी ल्यान्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन बन्चरेडाँडा पुग्नुभएको थियो । ‘‘तपाईंले धेरै पटक भाका फेरिसक्नु भएको छ, अब मङ्सिर १५ गतेबाट फोहोर विसर्जन गर्न मिल्नेगरी तयारी गर्नुस्,’’ प्रगतिको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । निर्माण कम्पनीले कात्तिक मसान्तसम्म मात्र समय माग गरेको थियो ।

उपत्यका र आसपासका नगर सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसका लागि तत्काल बन्चरे ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न अर्को विकल्प नभएको स्पष्ट पार्नुभयो ।

सोही अवसरमा निर्माण कम्पनीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मङ्सिर १ गतेबाट नै फोहोर विर्सजन गर्न मिल्नेगरी अन्तिम चरणको काम भइरहेको जानकारी गराउनुभएको थियो । लुम्बिनी–कोसी एन्ड न्यौपाने (जेभी) ले सो साइट निर्माणको काम गरिरहेको छ ।

काठमाडाँै र ललितपुर महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने सो साइटको निर्माण भइरहेको छ । सो साइट निर्माणका क्रममा अहिलेसम्म ल्यान्डफिल जाने बाटो निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याभियन पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेका छन् ।

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले तोकिएको समयमा साइटको निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले फोहोर वर्गीकरण नगरी विसर्जन गर्दा २५ वर्ष र वर्गीकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिनुभयो ।

२०६२ सालमा दुई वर्षका लागि मात्रै फोहोर व्यवस्थापन गर्न मिल्नेगरी सिसडोल
ल्यान्डफिल साइट तयार गरिएको थियो । लगत्तै दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन बन्चरेडाँडामा गर्न एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

डेढ दशकअघि २०६२ सालमै तीन वर्षभित्र बन्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरे पनि समयमा काम हुन सकेको थिएन । गोरखापत्र दैनीकबाट


प्रकाशित | १६ कार्तिक २०७७, आईतवार ०७:२६