संविधानको ‘कू’ गरेको बेला चुनावको औचित्य हुँदैन : माधव नेपाल

काठमाडौँ — नेकपा दाहाल-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले संविधानको कू गरेको बेला चुनावको औचित्य नरहेको बताउनभएको छ । नेपाल बुद्धिजीवी संगठनले बिहीबार गरेको ‘प्रतिनिधिसभा विघटन प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भन्नुभयो, ‘भनेको चुनाव कुनै पनि हालतमा हुँदैन, भ्रममा नपरौं ।’

‘हिलेसम्मको अवस्थाको मुख्य जिम्मेवारी केपी ओली नै रहेको जिकिर गर्दै भन्नुभयो, ‘हामीले पनि जिम्मेवारी लिनुपर्छ मैले गल्ती गरेँ गणतन्त्र विरोधीलाई सत्ता र पार्टीमा पुर्‍याएर सुध्रिन्छ्न् कि भनेर गरियो । अहिले आफैंलाई घाँडो भएको छ । उहाँलाई ५ वर्षकै प्रधानमन्त्री भनेर हामीले जिम्मेवारी दिएकै थियौं तर त्यसको अवमूल्यन गरियो । उहाँ बदलाको भावना लिएर हिँड्ने मानिस हो । ओलीले पार्टीको नेतृत्व लिएपछि ध्वस्त बनाउनु भयो । मदन भण्डारी फाउन्डेशनको नाममा उहाँले गुट चलाउनु भयो । उहाँले कम्युनिस्टविरोधी गतिविधि गर्दै हिँड्नुभयो ।’

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नगरिएको उल्लेख गर्दै थप्दै भन्नुभयो, ‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधान पनि थियो । हुँदै नभएको धारा राखेर अनि अन्तर्राष्ट्रिय अभ्यास लगायतका कुराहरु राखेर उहाँले विघटन गरे भन्नुहुन्छ । त्यसैले लोकतन्त्र र स्थायित्वमाथि प्रहार गर्ने काम जुन भएको छ यो असंवैधानिक कदम हो । यसका विरुद्ध डटेर सामना गर्नुपर्ने बेला आएको छ । कम्युनिस्ट आन्दोलनलाई तहसनहस गर्ने काम गरिएको छ । आन्दोलनको ज्वारभाटा ल्याउनुपर्ने बेला अहिले आएको छ । तपाईंहरू के बुझ्नुस् भने नेकपा आधिकारिकता हाम्रै हो ।’


प्रकाशित | १ माघ २०७७, बिहीबार १६:२२