युएइबाट १६८ नेपाली बोकेको विमान काठमाडौँमा अवतरण

काठमाडौं : दुबईबाट एक सय ६८ यात्रु र एउटा शव लिएर एयर अरेबिया एयरपोर्ट आइपुगेको छ । यूएई सरकारले अलपत्र नेपालीलाई स्वदेश फर्काएको हो।

एयर अरेबियाको विमान साँझ पौने ६ बजे अवतरण भएको हो। एयरपोर्ट ओलीएसँगै उनीहरुलाई होल्डिङ सेन्टरमा लगेर आवश्यक जाँच गरि त्यसपछि क्वारेन्टाइनमा पठाइने छ।

सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने निर्णय गरेपछि उद्धार सुरु भएको हो। यसअघि म्यानमारमा रहेका २६ जना नेपाली नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् ।

सरकारले मध्यपूर्वबाट झण्डै ४० हजारको उद्धार गर्दैछ । जसमा युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजना रहेका छन । नेपाल सरकारले गैर आवासीय नेपाली संघको सहयोगमा विदेशमा रहेका नेपालीको उद्धार गर्न लागेको हो ।

सरकारले विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरेको छ । विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान होल्डिङ सेन्टर झण्डै तीन हजार क्षमताको तयार गरिएको हो ।

काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिने छ । काठमाडौँ र भक्तपुरमा एक, एक हजार क्षमताका छन भने ललितपुरमा ९०० क्षमताका छन् ।

सरकारले काठमाडौँको यति पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार गरेको हो । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेको होल्डिङ सेन्टरमा बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।

ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेका छन् । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने गरि तयार गरिएको छ ।


प्रकाशित | २३ जेष्ठ २०७७, शुक्रबार १९:१४