युवा फोरम बैठक सम्पन्न- विदेशमा अलपत्र युवाहरुलाई तत्काल स्वदेश फीर्ता गर्न सरकारसँग आग्रह

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) युवा फोरमको पहिलो बैठक सम्पन्न भएको छ । कोरोना प्रतिकार्य कार्यक्रममा युवा संयोजकहरुले गरेका काम, युवा फोरमले तत्काल गर्नुपर्ने कार्य र नयाँ योजना तथा परियोजनाहरुलगायतका विषयमा केन्द्रित भई आयोजना गरिएको बैठकले विदेशमा अलपत्र युवाहरुलाई तत्काल स्वदेश फीर्ता गर्न सरकारसँग माग गरेको छ ।

एनआरएनए आइसिसी युवा फोरम संयोजक हिमाल गुरुङको अग्रसरतामा सम्पन्न बैठकमा विभिन्न क्षेत्रका क्षेत्रीय युवा संयोजक तथा एनसिसी युवा संयोजकहरुले नेपाल सरकारले विदेशमा कोभिडको कारण अलपत्र नेपाली युवाहरुलाई स्वदेश फीर्ता गर्न ढिलाइ गरेको भन्दै तत्काल स्वदेश फीर्ता गर्न आग्रह गरेका हुन ।

विदेशमा ५० देखि ६० प्रतिशत युवा तथा विद्यार्थी रहेको भन्दै विदेशमा काम गर्न आएका, अध्ययन गर्न आएका र ब्यापार ब्यवसाय शूरु गरेका युवाहरु पनि धरासायी बनेकाले स्वदेश फर्कन तयार रहेको भन्दै स्वदेश फीर्ता गरि युवा लक्षित कार्यक्रम ल्याउन पनि युवा फोरमले सरकारसँग माग गरेको छ ।

बैठकले  विभिन्न देशमा रहेका नेपाली युवाहरुको अवस्था प्रतिकुल रहेको र आगामी दिनमा अझ प्रतिकुल हुँदै जाने भएकोले अन्तराष्ट्रिय कार्यकारी सचिवालय तथा नेपाल सरकारलाई पत्र लेख्ने निर्णय पनि गरेको छ ।

साथै, युवा मनोपरामर्श गर्न व्यवस्था मिलाउने र नेपालमा नेपालीहरु फर्किदा क्वारेन्टाइन बनाउने, स्वयंसेवक परिचालन कार्यमा गैर आवासीय नेपाली संघले अनुरोध गर्ने र सोहि अनुसार कार्यक्रम बनाउने पनि निर्णय गरेको संयोजक हिमाल गुरुङले जानकारी गराउनुभयो ।

संयोजक गुरुङका अनुसार महिनाको १ चोटी बैठक गर्ने, प्रति युवा ५ डलर संकलन गर्ने, एक युवा, एक परियोजना कार्यक्रम संचालन गर्ने, कोरोना कम हुदै गएमा कोरोनाको असरबाट परेको मानसिक नकारात्मक असरलाई कम गर्न बिभिन्न खेलकुद गर्ने र प्रतिभा खोजी कार्यक्रम संचालन गर्ने प्रस्तावहरु पारित गरि अन्तराष्ट्रिय कार्यकारी सचिवालयमा पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आइसिसी महिला उपाध्यक्ष रबिना थापाले आगामी दिनमा युवा फोरमले कोरोना प्रतिकार्य तथा  विभिन्न कार्यक्रमहरु गर्नुपर्ने भएकोले केहि समितिहरुको निर्माण गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराउनुभयो ।

संघका आइसिसी महासचिव हेमराज शर्माले कोरोनाको प्रतिकार्यमा गैर आवासीय नेपाली संघले गरेको कार्यहरुलाई प्रकाश पार्दै युवा संजालले गरेको कामहरुलाई प्रसंशा गर्नुभयो ।  सोहि क्रममा आगामी दिनमा युवा संजालको नीति तथा योजनालाई परिवर्तन गर्ने केहि सुझाव आएमा परिवर्तन गर्ने पनि जानकारी गराउनुभयो ।

आइसिसी युवा संयोजक हिमाल गुरुङले कोरोना प्रतिकार्यमा रहेका युवा संयोजकहरुले राष्ट्रिय समन्वय परिषदहरुसंग मिलेर विभिन्न आवश्यकता परेका विद्यार्थीहरु, परिवारहरु तथा ब्यक्तीहरुलाई आवश्यक खाना, किराना सामान तथा औषधिहरु वितरण तथा नेपाल जान चाहनेहरुको फर्म भर्न सहयोग गरेको कुराको जानकारी गराउनुभयो । सबै संयोजकहरुले गरेको उदाहरणीय कामहरुको लागि संयोजक गुरुङले आभार समेत ब्यक्त गर्नुभयो ।

बैठकमा बिमला सापकोटा (क्षेत्रीय युवा संयोजक अमेरिकाज), राज रेग्मी (क्षेत्रीय युवा संयोजक, मध्य पुर्व), दिपक प्रसाद कंडेल (क्षेत्रीय युवा संयोजक, एसिया प्रशान्त), कुन्दन कार्की (युवा संयोजक साईप्रस) , राजकुमार श्रेष्ठ ( युवा संयोजक साउदी अरब), कासी दनाई (युवा संयोजक बेल्जियम), मदन अधिकारी ( युवा संयोजक युए ई), भिम परियार (युवा संयोजक पोल्याण्ड), इश्वर खत्री (युवा संयोजक क्यानाडा), श्रवण कुमार केसी (युवा संयोजक स्विट्जरल्याण्ड), बिनोद रुवाली (युवा संयोजक अमेरिका), रबिन मगर, महेश श्रेष्ठ (कार्यालय आईटी अफिसर), कुनाल मिश्र ( सहायक कार्यक्रम अधिकृत)लगायतको सहभागिता थियो ।


प्रकाशित | ५ जेष्ठ २०७७, सोमबार १६:२१