नरेन्द्र मोदी नेतृत्वको भाजपा पूर्ण बहुमतका साथ विजयी, मोदी फेरि एकपटक भारतको प्रधानमन्त्री

काठमाडौं : भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत पाएसँगै नरेन्द्र मोदी फेरि एकपटक भारतको प्रधानमन्त्री बन्नुहुने भएको छ । विभिन्न सात चरणमा भएको चुनावको मतपरिणाम सार्वजनिक भएसँगै मोदी फेरि प्रधानमन्त्री बन्नुहुने भएको हो ।  ५ सय ४३ सिट रहेको भारतीय लोकसभामा २ सय ७२ सिट जित्ने पार्टीले सरकार बनाउन सक्छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३ सय ५० सिट जित्ने निश्चित भएको छ ।

त्यस्तै भारतीय कांग्रेसले झण्डै ५० सिटमा जित हात पार्ने देखिन्छ । सन् २०१४ को लोकसभा चुनावमा भन्दा कांग्रेसले ७ सिट बढी जित्ने देखिएको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) ले झण्डै ९० सिटमा जित हात पार्ने देखिन्छ । त्यस्तै वाईएसआर कांग्रेस पार्टीले २५ ठाउँमा जित हात पार्दा ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसले २३ सिटमा जित हात पार्ने देखिन्छ । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि पूर्ण बहुमतका साथ दोस्रो कार्यकालका लागि सत्तामा फर्किने मोदी दोस्रो हुुनुहुन्छ ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार २२:१६