नयाँ वर्षको पहिलो कारोबार : शेयर बजार ४.७ अङ्कले बढ्यो

काठमाडौं : नयाँ वर्षको कारोबार भएको पहिलो दिन शेयर बजारमा नेप्से सूचक ४.७० अंकले बढेर ११८८.७१ बिन्दुमा पुगेको छ । यो दिन १६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता सेयर ३० करोड ४५ लाख ७६ हजार ७८२ रुपैयाँमा किनबेच भएको छ । दशवटा उप समूहको कारोबार हुँदा बैंंकिङ ५.८९,होटल २२.४९, विकास बैंक ४.१३, निर्जीबन बीमा कम्पनी ६.९५, उत्पादन तथा प्रशोधन १०.३५ र माइक्रोफाइनान्स ४२.४४ अंकले बढेको छ । बाँकीको कारोबारमा गिरावट आएको छ ।

यो दिन कारोबार रकमको आधारमा नेको इन्स्योरृेन्स अग्रस्थानमा देखिएको छ । नेकोको २ करोड ७५ लाख ५० हजार २०१ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र एनआईसी एसिया बैंक रहेका छन् । यो दिन एभरेष्ट इन्स्योरेन्स, साना किसान विकास बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था,निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाएका छन भने गुमाउनेमा नेपाल कम्यूनिटी विकास बैंक, नाडेप लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् ।

लगानीकर्ताहरुले सेयर खरिद वा बिक्री गर्दा पाँच लाख भन्दा बढीलाई प्यान लाग्ने भएकाले कारोबार रकम घटेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार पाँच लाख भन्दा बढीको सेयर बिक्री वा खरिद गर्दा प्यान अनिवार्य भएको छ, पाँच लाख भन्दा थोरै बढी भएपनि प्यान चाहिहाल्छ, त्यसैले कतिपय प्यान नभएका लगानिकर्ताहरुले कारोबार गरेनन् । किन्ने वा बेच्नेले त्यो भन्दा कम रकमको किनबेच गर्न सक्ने भएपनि लगानीकर्ताहरुले त्यसतर्फ ध्यान नदिएको हुनसक्छन् ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १६:२०