सलह किरा एक दिनमा १ सय ५० किलोमिटरसम्म समूह बनाएर जान सक्छ

काठमाडौं :फट्यांग्रोजस्तो देखिने सलह किरा कृषि बाली नष्ट गर्दै आएको अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा हो । एक वर्गकिलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको संख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छ । अन्य किराहरू बाली विशेषमा लाग्ने र आंशिक नष्ट गर्ने गरे पनि सलह किरा हरियो जुनसुकै बालीमा लाग्ने र सबै नष्ट गर्ने प्रकृतिको भएको मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वप्रमुख डा. डिल्लीराम शर्माले जानकारी गराउनुभयो ।

‘यो किरा अहिलेसम्मकै सबैभन्दा खतरनाकसाबित भएको छ । नेपाल भित्रिनु भनेको निकै खतराको संकेत हो,’ उहाँले भन्नुभयो, ‘यसलाई नष्ट गर्न शनिबारबाटै काम थाल्नुपर्ने थियो, तर १–२ दिन पर्खेर गल्ती भइरहेको छ ।’ यो किराले छोटो समयमै बाली, पात, डाँठ सबै नष्ट गर्ने बताउनुभयो । यो किरा सुरुमा सन् २००३ मा अफ्रिकामा देखिएको थियो । त्यसपछि खाडी मुलुक, इरान हुँदै पाकिस्तानबाट भारतमा आएको हो ।

यो किरा एक दिनमा १ सय ५० किलोमिटरसम्म समूह बनाएर जान सक्छ । ३५ हजार मानिसले बिहान र बेलुका खाने कृषिउपज एक दिनमा एउटै समूहमा आएका किराले नष्ट गर्ने सामर्थ्य राख्छ । किरालाई नियन्त्रण गर्न ‘मालाथियन ९६ पर्सेन्ट’ विषादी सबैभन्दा प्रभावकारी हुन्छ । तर, यो विषादी नेपालमा छैन ।

त्यस्तै, क्लोरोसाइरिफियस विषादी पनि सलह किरा मार्न प्रयोग हुन्छ । यो औषधि भने नेपालमा उपलब्ध छ । तर, यसले तुलनात्मक रूपमा कम किरा मार्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वप्रमुख डा. डिल्लीराज शर्माले बताउनुभयो । ‘क्लोरोसाइरिफियस विषादी पनि पर्याप्त मात्रामा छर्न सकिन्छ, तर ढिला गर्नुहुँदैन,’ उहाँले भन्नुभयो ।


प्रकाशित | १४ असार २०७७, आईतवार ०९:३०