सुत्केरीको मृत्युको कारण खोज्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा

काठमाडौं : धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षिय सुत्केरीको मृत्युको कारण पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको विज्ञ टोली धुलिखेल गएका छन्।  स्वास्थ्य मन्त्रालयको कोभिड—१९ नियन्त्रणका लागि बनाइएकोे इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल टोलीका प्रमुख डा गुणराज लोहनीसहितको चिकित्सकीय टोली अनुसन्धानका लागि धुलिखेल अस्पतालमा गएको मन्त्रालयले जनाएको छ।

टोलीले ती महिलाको मृत्युको कारण लगायतका विषयमा आवश्यक विवरण संकलन गर्नेछन्। सुत्केरीको कोरोनाका कारण मृत्यु भएको भन्ने खबर बाहिर आइरहेका बेला मन्त्रालयले थप अध्ययनका लागि टोली पठाएको हो।

स्वास्थ्य मन्त्रालका प्रवक्ता डा विकास देवकोटाले नियमित मिडिया बिफ्रिङमा धलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कारणबारे अनुसन्धान भइरहकोले त्यसको नतीजा आएपछि मात्र आधिकारिक कारण पत्ता लाग्ने बताउनुभयो ।

त्रिवि शिक्षण शिक्षण अस्पतालमा वैशाख २३ गते सुत्केरी भएर घर गएकी ती महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि सुरुमा सिन्धुपाल्चोकको स्थानीय अस्पताल र पछि धुलिखेल अस्पतालमा ल्याइएको थियो।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार १८:३१