राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाउनु भएको हो ।

संविधानमा राष्ट्रपतिलाई संसद्‌बाट पारित भएको कुनै पनि विधेयक एक पटक पुनर्विचारका लागि संसद्‌मै फिर्ता पठाउन सक्ने अधिकार छ। साथै राष्ट्रपतिले संसदबाट पारित भएर पठाइएको विधेयक १५ दिनभित्र फीर्ता पठाइसक्नुपर्ने व्यवस्था संविधानमा छ।

संविधानको धारा ११३ मा भनिएको छ, ‘प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ।’

उता संसद्का दुवै सदनले जस्ताको तस्तै वा संशोधनसहित पारित गरी पुनः पठाएको विधेयक भने पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।


प्रकाशित | २९ श्रावण २०७९, आईतवार १९:४२