न्युयोर्कमा बेरोजगारी विमा रकमका लागि नयाँ मापदण्डको आपतकालिन घोषणा

न्यूयोर्क : विगतमा झुठो विवरण दिएर बेरोजगारी विमा लिएकालाई पनि कोरोनाको महामारीका बेलामा बेरोजगारी विमा रकम पाउनबाट बञ्चित नगरिने भएको छ । न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले आपतकालिन मापदण्डको घोषणा गर्दै विगतमा बढी दिनको बेरोजगारी विमा रकम लिएकाहरुलाई पनि कोरोनाको महामारीका बेलामा बेरोजगारी विमा रकम उपलब्ध गराउने घोषणा गरेको छ ।

विगतमा बढी दिनको बेरोजगारी विमा रकम प्राप्त गरेका कारण जरिवानामा परेकाहरु अहिले बेरोजगार भएको खण्डमा उनीहरुलाई पनि तुरुन्तै साप्ताहिक रुपमा ६ सयका दरले संघीय महामारी बेरोजगारी क्षतिपूर्ति रकम प्रदान गरिने भएको छ । यो रकम अप्रिल ५ बाट नै हिसाब गरेर उपलब्ध गराइने भएको छ । साथै उनीहरुले बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकम समेत प्राप्त गर्न सक्नेछन् ।

यदि विगतमा कसैले ढाँटेर बेरोजगारी विमा रकम लिएको खण्डमा डिपार्टमेन्ट अफ लेवरले सजायस्वरुप उनीहरुलाई केही दिनका लागि बेरोजगारी विमा रकम पाउन नसक्नेगरी कारवाही गर्छ । उदाहरणका लागि यस्तो अवस्थामा यदि ८ दिनका लागि रकम पाउन नसक्नेगरी कारवाही गरिएको छ भने त्यस्तो आवेदक बेरोजगारी विमा स्वीकृत भएपनि दुईसातासम्म रकम प्राप्त गर्न योग्य नहुने नियम रहेको छ । तीनदिनका लागि रकम पाउन नसक्नेगरी कारवाही गरिएको छ भने उक्त साता उसले जम्मा एकदिनको रकम पाउनेछ ।

विगतमा ढाँटेर रकम लिएको भएमा जतिदिन ढाँटेर रकम लिएको हो, त्यती दिनको क्षतिपूर्ति स्वरुप रकम पाउन योग्य दिनबाट कटाउँर्द लगिन्छ । र जुनदिनदेखि पूरानो रकम कट्टा हुन्छ, त्यो दिनदेखिमात्र बेरोजगारी विमा रकम प्रदान गरिन्छ । तर आज डिपार्टमेन्ट अफ लेबरको घोषणा अनुशार महामारीका बेलामा उनीहरुको रकम नकाटिने भएको छ । उनीहरुले अबको झण्डै दुईसातामा नियमित बेरोजगारी विमा वा पीयुएको रकम पनि पाउन थाल्नेछन् ।

त्यस्तै न्युयोर्कमा नियमित बेरोजगारी विमा रकमका लागि अयोग्य नभएसम्म पीयुए प्राप्त नहुनेगरी संघीय सरकारले निर्देशिका जारी गरेका कारण झण्झटिलो अवस्था समेत आएको छ । तर अप्रिलको अन्त्यदेखि न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले आवेदनलाई थप व्यवस्थीत गरेको छ, जस अन्तरगत नियमित बेरोजगारी विमाका लागि अयोग्य भएपनि छुटटै फर्म भर्नुपर्दैन । तर पहिले नै नियमित बेरोजगारी विमाका लागि आवेदन दिएर अयोग्य भएकाहरुले भने छुट्टै फर्म भर्नुपर्ने हुनसक्छ ।

अहिले भने न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले अधिकतम पीयुए आवेदन प्रकृयामा लैजान सक्षम भएको जनाएको छ । अहिलेसम्म ३ लाख ३० हजारको पीयुए स्वीकृत गरेको समेत जनाइएको छ । अहिलेसम्म बेरोजगारी विमा रकम स्वरुप झण्डै साढे ७ बिलियन डलर प्रदान गरिसकेको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार ०७:४७