कृष्णजीवी पन्थले गराए एनआरएनए सचिव पदमा उम्मेदवारी दर्ता

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अमेरिका निवासी कृष्णजीवी पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । बालुवाटार स्थित एनआरएनए सचिवालयमा पुगेर पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । पन्थले महेश श्रेष्ठ टिममा सचिवमा उम्मेदवारी दिनु भएको हो ।

एनआरएनएमा लोकप्रिय र बलियो उम्मेदवारको रूपमा हेरिएका पन्थको प्रस्तावकमा राजेन्द्र जमरकट्टेल र सन्तोष जोशी रहनु भएको छ भने समर्थकमा डा.अर्जुन बञ्जाडे र पुरूषोत्तम सडौला हुनुहुन्छ ।
उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिनुहुँदै पन्थले आफूले अहिलेसम्म गरेको काम र अनुभवको आधारमा सचिव पदमा उम्मेदवार दिएको स्पष्ट पार्नुभयो ।

पन्थले आम गैर आवासीय नेपालीहरुले आफूलाई विजयी गराउनेमा ढुक्क रहेको बताउनुभयो । पन्थले आफू विजयी भएमा संस्थालाई पारदर्शी, बलियो र एकताबद्ध गर्दै सचिवालयलाई चुस्त दुरुस्त बनाउने कार्यमा काम गर्ने बताउनुभयो ।

विगत १५ वर्ष देखी अमेरिकामा बस्दै आउनु भएको पन्थ एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँले लामो समयदेखि नेपालीहरुको हितमा निरन्तर काम गर्दै आउनु भएको छ ।

एनआरएनए अमेरिकाको संस्थाको भवन खरिदमा,बरिष्ठ उपाध्यक्ष हुँदा वान एनसिसी वान च्यारिटी अन्तर्गत संयोजक नै बनेर सल्यानको विकट गाउँमा करिब एक करोड लागतमा प्रसूति गृहको निर्माण तथा नेपालीहरुको हितमा निरन्तर उल्लेख्य काम गर्दै आउनु भएको छ । यो यात्रामा अझ शशत्त भएर लागिपर्ने पन्थको प्रतिबद्धता छ ।


प्रकाशित | २८ आश्विन २०८०, आईतवार १६:०७