‘तिमी नेपाली हैन भन्छन्, तर मेरो पदक नेपाललाई हो’

हिम बिक्रम केसी/काठमाडौं

ओलम्पियन पौडीबाज गौरिका सिंहले बिहिबार कीर्तिमानी स्वर्ण जितिन् । साग खेलकुदको ईतिहासमा उनले पौडीको ब्यक्तिगत स्पर्धामा पहिलो स्वर्ण हात पारिन् । हुन त गौरिका बेलायतमा बस्छिन् । उतै प्रशिक्षण गर्छिन् । उनी खेल्न भने नेपाल आउँछिन् ।

कारण उनका बुवा, आमा दुवै नेपाली हुन् । परिवार स्थायी रुपमा लण्डनमा बस्छ । तर देश प्रेमले छोरीले नेपालका लागि खेलोस भन्ने बुवा आमाको सपना छ । त्यही सपनामा गौरिका हिडेकी छिन् । उनीहरु हरेक बर्ष गौरिकालाई प्रतिस्पर्धा गराउन नेपाल ल्याउँछन् । अन्तराष्ट्रिय प्रतियोगिता नेपालबाट खेलाउँछन् ।

गौरिका सम्भवत घरेलु खेलकुदले पाएको सबैभन्दा उम्दा खेलाडी हुन् । सन् २००१६ मा ब्राजिलको रियो ओलम्पिकमा उनीले नेपालको प्रतिनिधित्व गरेकी थिईन् । त्यहाँ उनले प्रशस्त चर्चा कमाईन् । कारण उनी रियो ओलम्पिक खेल्ने सबैभन्दा कान्छि खेलाडी थिईन् ।

उनै गौरिका पुन एक पटक चर्चामा छिन् । नेपालले तेस्रो पटक दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला आयोजना गरिरहेको छ । र पौडीमा सहभागीता जनाउन गौरिका पुन नेपाल आएकी छिन् ।

उनै गौरिकाले कीर्तिमानी प्रर्दशन गर्दै बिहिबार सातदोबाटोको पौडी पोखरीमा ईतिहास रचिन् । व्यक्तिगत स्पर्धामा उनको प्रर्दशनले साग खेलकुदको ईतिहासमा पौडीले पहिलो स्वर्ण हासिल गरेको छ । ‘हरेक खेल गाह्रो हुन्छ । तर जति सक्दो राम्रो गर्न मात्र सकिन्छ ।’ खेलपछि सञ्चारकर्मीसंग उनले भनिन् ।

लण्डन बस्ने गौरिकालाई कतिले नेपाली हैन भन्ने आरोप लगाउँछन् । १६ बर्षकी गौरिकालाई सो कुराले निकै पोलेको रहेछ । ‘धेरै मान्छे तिमी बाहिर बस्छ, नेपाली हैन भन्छन्, तर म नेपाली हो, यो मेडल नेपाललाई हो ।’ गौरिकाले देशप्रति समर्पणभाव जनाईन् ।

साग खेलकुदमा स्वर्ण जितेर निकै खुसी देखिएकी गौरिकाले सफलताको श्रय नेपाल अनि अभिभावकलाई दिईन् । गौरिकाले सागमा कुल ११ स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् । उनले दुई स्पर्धा बिहिबार सकेकी छिन् । व्यक्तिगत स्पर्धामा स्वर्ण जितिन् । टिम रिलेमा आफ्नै बलमा कास्य जिताईन् ।

उनले ४ सय मिटर फ्रिस्टाईललाई मुख्य लक्ष्य बनाएकी थिईन् । जसमा उनले पहिलो दिननै स्वर्ण जितेकी हसन् । हरेक स्पर्धामा उनी आफ्नो उत्कृष्ट दिने बताउँछिन् । बाँकी नतिजामै देखिने उनको दाबी छ ।

पहिलो दिनमै कीर्तिमानी स्वर्ण जितेकी गौरिकाको यो सागमा थप लक्ष्य के छ त ? ‘भोली राम्रो हुन्छ कि हुदैन, थाहा हुदैन । म कोशिश मात्र गर्न सक्छु ।’ उनको जवाफ छ । पौडीमा धेरै दाबी गर्न सकिन्न । नतिजा जे सुकै निस्कन सक्छ । तर मेहनत खेल्नेको हातमा हुन्छ । गौरिकाको बुझाई यस्तै छ ।

उनी नेपालमा बनेको नयाँ स्विमिङ पुल देखेर मख्खै परिन् । ‘पुल राम्रो छ । बेलायत जस्तो पुल छ । तर यहाँ अलि जाडो छ ।’ उनले भनिन् । घरेलु खेलकुदमा प्राय जसो कीर्तिमान आफ्नो नाम गरेकी गौरिका हरेक नयाँ खेलाडीका लागि आईकन हुन् । उनका धेरै प्रशंसक छन् । तर गौरिका आफ्नो फ्यानबारे के भन्छिन् त ? ‘मेरो फ्यान छन् भन्दा अनौठौ लाग्छ ।’ गौरिका लजाउँछिन् ।


प्रकाशित | १९ मंसिर २०७६, बिहीबार २१:१६