बेलायतमा साढे ७ सय नेपालीमा संक्रमण, ज्यान गुमाउने ६१ पुगे, अस्पतालमै भर्ना हुने १ सय १५

लण्डन : बेलायतमा ७ सय ४७ जना गैर आवासीय नेपालीमा कोरोना संक्रमण भएको छ । गैर आवासीय नेपाली संघ ( एनआरएनए) यूकेले सार्वजनिक गरेको उक्त तथ्यांकले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखाएको हो । संक्रमितमध्ये उपचारका लागि अस्पतालमै भर्ना हुनेहरुको संख्या १ सय १५ छ । जसमध्ये ६१ जनाको मृत्यु भइसकेको छ ।

तथ्यांकमा १७ जना संक्रमित नेपाली अझै पनि अस्पतालमा उपचाररत रहेको र ३७ जना उपचारपछि निको भएर घर फर्किएको उल्लेख छ । त्यसैगरी, हालसम्म बेलायतमा ६ सय ३२ जना नेपाली कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका, उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका तथा ६२ जना अझै पनि आइसोलेसनमै रहेको बताइएको छ

संघले सञ्चालन गरेको हेल्पलाइन र देशैभर रहेका संघका पदाधिकारीहरुको सक्रियतामा तथ्यांक संकलन गरिएको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले जानकारी गराउनुभयो महामारी शुरु भएयता बेलायतमा अरु कैयौं नेपालीको मृत्यु भएको जानकारी संघमा आएको भन्दै रानाभाटले तीमध्ये केहिमा कोरोनाको संक्रमण आशंका गरिएपनि पुष्टी हुन बाँकी रहेको बताउनुभयो ।

एनआरएनए यूकेले बेलायतमा अफ्ठेरोमा परेका नेपालीहरुको सहयोगका लागि संघमार्फत २५ डाक्टर, २४ नर्स र १ सय २ जना स्वयमसेवक गरी कुल १ सय ५१ जना खटिएको बताएको छ ।

त्यस्तै, संघले समस्यामा पर्ने विद्यार्थीहरुलाई राहतदेखि बेलायतका विभिन्न क्षेत्रस्थित भूपू गोर्खा र वृद्धवृद्धा लगायतलाई प्राथमिकतामा राखी मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण गरिरहेको छ । यसअघि लण्डनस्थित नेपाली दूतावासले पनि गत सोमबार बेलायतमा ६० जना नेपालीको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टी गरेको थियो ।


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार ०७:२८