बेइजिङ्गमा ५० दिनपछि एकैपटक ४५ जनामा सङ्क्रमण पुष्टि,केही क्षेत्रमा कडाइपूर्वक लकडाउन

काठमाडौँ : चीनको राजधानी बेइजिङ्गमा ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै केही क्षेत्रमा कडाइपूर्वक लकडाउन लागू गरिएको छ । बजारमा युद्धकालमा लगाइने जसरी लकडाउन अपनाइएको छ । पछिल्लो ५० दिनपछि बेइजिङ्गमा पहिलोपटक कोरोना भाइरसका सङ्क्रमित पाइएपछि केही भागमा लकडाउन गरिएको हो ।

बेइजिङ्गको एक थोक सामग्री पाइने बजारसँग सङ्क्रमण सम्बन्धित रहेको बीबीसीले उल्लेख गरेको छ । उक्त बजारसँग सम्बन्धित ५१७ जनामा कोरोना सङ्क्रमणको परीक्षण गरिँदा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । करिब ११ टोलमा लकडाउन लगाइएको छ । सङ्क्रमण हुन सक्ने आशङ्कामा बजारमा कार्यरत दश हजार जनाभन्दा बढीमा परीक्षण गरिँदैछ ।

चिनफाडी बजार चीनको दक्षिण पश्चिम बेइजिङ्गको फेङ्गटल जिल्ला अन्तगर्त पर्छ । नजिकको विद्यालय र सार्वजनिक यातायात पूर्णरुपमा बन्द गरिएको छ ।


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार १३:३०