स्थानीय तह चुनावमा १ करोड ८० लाख मतदाता

काठमाण्डौ – आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावमा १ करोड ८० लाख मतदाता हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले आज आइतवार पत्रकार सम्मेलन गरी २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरिएको जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनाव हुने अघिल्लो दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मान्दा झन्डै दुई लाख जना मतदाता थपिने जानकारी दिनु भयो ।

यसअघि चुनावको मिति घोषणा भएको दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मानिँदै आएको थियो । मतदान गर्न १८ वर्ष पुग्नुपर्ने व्यवस्था भए पनि आयोगले १६ वर्ष पुगेर नागरिकता बनाएका सबैको नामावली सङ्कलन गर्दै आएको छ । आयोगका अनुसार २०७४ सालको चुनावमा एक करोड ५४ लाख २७ हजार नौ सय ३८ जना मतदाता थिए । पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ ।

त्यस्तै, आयोगले चुनाव व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । स्थानीय तह सदस्य चुनावमा निर्वाचन आयोगका लागि झन्डै १२ अर्ब रुपैयाँको बजेट आवश्यक पर्ने अनुमान गरिएअनुसार नेपाल सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतिको प्रक्रियामा रहेको पनि निर्वाचन आयोगले जनाएको हो ।

त्यस्तै, आयोगले निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचन सम्बन्धी प्रचारप्रसार गर्ने, मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचय पत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्ने लगायत क्रियाकलाप समावेश गरी निर्वाचन कार्यतालिका समेत स्वीकृत गरिसकेको जनाएको छ ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १९:५३