१३ देशमा टेलिकमको रोमिङ सेवा विस्तार

काठमाडौं: टेलिकमले अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा १३ मुलुकमा विस्तार गरिएको छ । संविधान दिवसको अवसरमा मंगलबारदेखि यी मुलुकहरूमा डाटा रोमिङ सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ । अब कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरू चीन, अस्ट्रेलिया, अमेरिका, क्यानाडा, यूएई, कतार, बेलायत, स्विट्जरल्यान्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् ।

साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरूले समेत अब भारत र चीन जाँदा यी सुविधा ९भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा० उपभोग गर्न सक्ने छन् । हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरूलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरूलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।

केही समय भित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरूमा पनि विस्तार गर्दै लगिनेछ । नेपाल टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरूलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । गत २०७६ वैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरूका लागि पनि दुई छिमेकी मुलुकहरू भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो ।


प्रकाशित | ५ आश्विन २०७६, आईतवार ०९:५५