लकडाउनमा विद्यार्थी भर्ना नलिन निर्देशन

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई २५ वैशाखसम्म जारी लकडाउन अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई आह्वान गरेका छन् ।

कतिपय निजी क्षेत्रका विद्यालयले अनुमतिबेगर अनलाइनबाट भर्ना लिन थालेको र वैशाख महिनाको समेत शुल्क लिन थालेको गुनासो बढेपछि सरकार तथा निजी विद्यालयका संस्थाहरूले पनि अहिले अनलाइन भर्ना नलिन निर्देश दिएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले कसैलाई पनि अनलाइनमा विद्यार्थी भर्ना लिन नभनिएको बताए । देशभरका प्याब्सन मातहतका विद्यालयले भर्ना नलिने उनको भनाइ छ ।

‘अनलाइनबाट विद्यार्थी भर्ना लिने कुरा सम्भव तथा व्यावहारिक छैन । बन्दाबन्दीको विषयमा सरकारबाट जारी निर्देशन उल्लङ्घन गर्ने कुरा पनि भएन’ प्याब्सन अध्यक्ष पुरीको भनाइ छ । बन्दाबन्दीको विषयमा सरकारले २६ वैशाखपछि लिने निर्णय हेरेर अघि बढ्ने उनको भनाइ छ ।

सरकारबाट बन्दाबन्दी आंशिक रूपमा मात्रै खुलाउने, सामाजिक दूरी कायम गर्ने हिसाबले अभिभावक विद्यालयसम्म आउने वातावरण नबनेसम्म विद्यार्थी भर्ना लिन नहुने प्याब्सनले जनाएको छ । प्याब्सनले आफू मातहतका धेरै विद्यालयले विद्यार्थीको नतिजा भने प्रकाशित गरेको जनाएको छ । वैशाख १९ सम्म नतिजा प्रकाशित गर्न प्याब्सनले मातहतका विद्यालयलाई निर्देशन दिएको थियो ।

केही विद्यालयका अन्तिम परीक्षा अझै नसकिएकाले २५ वैशाखभित्र कक्षा ९ सम्मको नतिजा प्रकाशित गर्न आग्रह गरिएको उनले बताए । केही पालिकाका निजी विद्यालयले अझै परीक्षा लिन नसकेका कारण विद्यार्थीको यसअघिको आन्तरिक परीक्षाका आधारमा अन्तिम नतिजा प्रकाशित गर्न भनिएको उनले जानकारी दिए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) नेपालका अध्यक्ष ऋतुराज सापकोटाले बन्दाबन्दीको यस अवधिमा विद्यार्थीलाई अनलाइन भर्ना नगरिएको बताए । विद्यार्थी भर्नाको विषय अभिभावकको आर्थिक पक्षसित समेत जोडिएकाले अहिले त्यो अवस्थासमेत नरहेको उनले स्प्ष्ट गरे । यति बेला सामाजिक दूरी कायम गरेर पुस्तकको जोहो गर्न नसकिने, विद्यालयमा जमघट हुन तथा अभिभावकले आर्थिक पक्षको बन्दोबस्त गर्न नसक्ने भन्दै उनले बन्दाबन्दी खुलेर जनजीवन सामान्य हुन थालेको २ या ३ सातापछि मात्रै विद्यालय सञ्चालन गरिने उनले उल्लेख गरे ।

सरकारी अधिकारीहरूले पनि यति बेला पर्ख र हेरको अवस्थाकै रहेको जनाएका छन् । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले भर्ना तथा पठनपाठनका विषयमा विद्यालयहरूले आन्तरिक तयारीका काम गर्न सक्ने तर अनलाइनबाट भर्ना लिन नसक्ने जनाए । विद्यालयहरूले आफ्ना विद्यालय वरपरका विद्यार्थीको अवस्था के छ भन्ने हिसाबले तयारी भने गर्न सक्ने उनको भनाइ छ । आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | २१ बैशाख २०७७, आईतवार ०९:११