पाँचथर सामूहिक हत्याकाण्ड : आत्महत्या गर्ने ज्वाइँमाथि आंशका बढाउँदै प्रहरीले थाल्यो अनुसन्धान

पाँचधर : गए राति पाँचधरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको २ परिवारका ९ जनाको विभत्स हत्याकाण्ड रहस्यमय बन्दै गएको छ । सामूहिक हत्याको घटना रहस्यमय बन्दै गइरहेका बेला झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमलाई शंकाको घेरामा राखिएको छ । प्रहरीले माखिमले नै हत्या गरेको हुन सक्ने आंशका गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले समेत ज्वाईँले नै हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । नौ जनाको सामुहिक हत्यामा संलग्नताको शंका गरिएका मनबहादुर माखिम झुण्डिएको स्थान नजिक रगत लागेको खुकुरी र कपडा फेला परेपछि प्रहरीले आंशका बढाउँदै अनुसन्धान उतैतर्फ केन्द्रित गरिरहेको छ ।

प्रहरीले आज गरेको प्रारम्भिक अनुसन्धानमा माखिम रुखमा पासो लगाई झुण्डिएर मृत फेला परेको स्थान आसपास खोजतलास गर्दा हतियार र कपडा फेला परेपछि अनुसन्धान उनैतर्फ सोम्झाइएको हो । झुण्डिएको स्थानदेखि केही टाढा खुकुरी र कपडा पोको पारेर भिरमा झारीएको अवस्थामा फेला परेको हो । भिरमा फ्यालिएको खुकुरी र कपडामा रगत लागेको भेटिएको छ । हत्याका बेला लगाएको कपडा फेरेर फ्यालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  माखिम हत्या भएका परिवारका कान्छा ज्वाई हुन् । घटनास्थल प्रकृती, स्थानीयको भनाईका आधारमा माखिमले हत्या गरेको हुन सक्ने प्रहरीले शंका गरेको थियो ।

यथपी सो घटनाको वास्तावीकता बाहिर आउँन अझै केहि दिन लाग्ने अनुमान गरिएको छ । घटनाको विषयमा बुझन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली आज घटनास्थलतर्फ पुगेको छ । हत्याको छानबिन गर्न तालिमप्राप्त कुकुरसहित ५० जना प्रहरीको टोली घटना स्थलमा पुगेको हो।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय इलाम र पाँचथरबाट ५० जना प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १९:३९