-श्रीकृष्ण सुलु
कोरियाली चलचित्र ‘पारासाइट’ (Parasite) ले ओस्कार पुरस्कार २०२० को सर्वोत्कृष्ट चलचित्र उपाधी जित्यो । ओस्कारको ९२ वर्षको इतिहासमा उक्त पुरस्कार जित्ने यो नै पहिलो गैर अँग्रेजी चलचित्र हो । त्यस्तै ओस्कारको उक्त संस्करणमा नै यो चलचित्रले सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट पटकथा, र सर्वोत्कृष्ट अन्तरराष्ट्रिय कथानक चलचित्र विधामा पनि जीत हासिल गर्यो । त्यसो त यो चलचित्रले कान फिल्म फेस्टिभलमा कानको सर्वोच्च पुरस्कार पाम डि’अर (Palme d’or) पनि जितेको थियो । सो पुरस्कार जित्ने यो नै पहिलो कोरियाली चलचित्र हो।
चलचित्रको सारसंक्षेप:
चलचित्रमा तीन वटा परिवार हुन्छन्; किम (Kim) को गरीब परिवार, पार्क (Park) को धनी परिवार र पार्कको घरेलु कामदार मोम ग्वाङ (Mom Gwang) र उनको लुकेर बसेको श्रीमान्।
पार्क परिवारले प्रसिद्ध आर्किटेक्ट नामगुङ (Namgoong) ले बनाएको आलिसान महल किनेको हुन्छ । भव्य महल, अत्याधुनिक सुविधा र ‘बफादार’ कामदारले गर्दा त्यहाँ जीवन अत्यन्तै सुखद थियो भन्न सकिन्थ्यो । अझ मनमोहक ठूलो कम्पाउन्डले त लाग्थ्यो कि त्यहाँ घाम पनि निजी छ ।
उता किम परिवार भने घाम कहिले नलाग्ने र हावा पनि मुस्किलले छिर्ने अर्धभूमिगत घर (Semi basement) मा अप्ठ्यारो तरिकाले बसिरहेको हुन्छ ।
मोम ग्वाङको श्रीमान्, व्यापारमा टाट पल्टेर रिन तिर्न नसकेर, पार्ककै महलको भूमिगत तल्ला (Basement) मा लुकेर बसेको हुन्छ; जुन कुरा पार्क परिवारलाई थाहा हुँदैन ।
झ्याल वा भेन्टिलेसनवाहेक सबै जमिन मुनि हुने गरी बनाइएको अर्धभुमिगत घर (Semi basement) मा बस्ने र झन् झन् गरिवीमा पिल्सिंदै गएको किम परिवार गरिवीवाट मुक्ति पाउने उपायको खोजीमा हुन्छ ।
किमका छोरा कि उ (Ki Woo) ले पार्कका छोरी डा हे (Da hye) लाई ट्युसन पढाउने काम पाएपछि किम परिवारको जीवनले नयाँ मोड लिन्छ । कि उ (Ki Woo) लाई उक्त काम उनका साथी मिन (Min) ले मिलाई दिएको हुन्छ ।
किमको परिवारका सवै सदस्यले पार्कको घरमा काम पाउनको लागि अनेक जाल रच्छन् । पुरानो ड्राइभर र घरेलु कामदारलाई निकाल्न अनेक जुक्ति लगाउन्छन्, छलछाम गर्छन् । कलापूर्ण नाटकपछि किमकी छोरी कि जुङ (Ki Jung) ले पार्कको छोरा डा सोङ (Da Song) को लागि आर्ट शिक्षक, किमले पार्कको ड्राइभर, र किमकी श्रीमती चुङ सुक (Chung Sook) ले पार्क परिवारको घरेलु कामदारको काम पाउन्छ ।
किम परिवारका सदस्यहरुले एकअर्काको सिफारिसमा पार्कको घरमा काम पाएको भए पनि पार्क परिवारले भने ती सबै कामदारहरु किमको एकाघरका सदस्य हुन् भन्ने थाहा पाएको हुँदैन । किनभने पार्क परिवारलाई ढाँटेको हुन्छ, तिनीहरुको सम्बन्ध, योग्यता अनि कि उ र कि जुङको नाम समेत । पार्कको घरमा कि उ (Ki Woo) को नाम केविन (Kevin) र कि जुङ (Ki Jung) को नाम जेसिका (Jessica) भनिएको हुन्छ ।
एक दिन साँझ पार्कको छोराको जन्म दिन मनाउन पार्कको सपरिवार क्याम्पिङको लागि वाहिर जान्छ । यही मौका छोप्दै पार्कको घरमा किम परिवारको भोज र मस्ती चली रहेको हुन्छ । ठिक त्यही बेला पार्कको पुरानो कामदार मोम ग्वाङ पार्कको घरमा आउन्छ । र, ग्वाङ भूमिगत तल्लामा जान खोज्दा अड्किएपछि, पार्कको घरमुनि भूमिगत कोठा रहेको र त्यहाँ ग्वाङको श्रीमान् लुकेर बसेको खुलासा हुन्छ । ग्वाङले किमकी श्रीमती चुङ सुकलाई आफ्नो श्रीमानको लागि गोप्य रुपमै खानपिनको व्यवस्था गर्न र बरु त्यसको वापत पैसा लिन प्रस्ताव राख्छ । तर चुङ सुकले त्यो अनुरोध अस्वीकार गर्छ ।
किम र ग्वाङ परिवारले एक अर्काको बदमासी थाहा पाउँछ र दुई परिवारवीच घमासान झगडा पर्छ । ठीक त्यही बेला पानी बेस्सरी परेकोले क्याम्पिङ स्थगित गरी पार्क परिवार घर फर्किंदै गरेको भन्दै खाना तयार गर्न फोन कल आउन्छ । यता झगडामा किम परिवार ग्वाङलाई मरणासन्न पार्न र उनको श्रीमानलाई भूमिगत कोठामै बन्द गर्न सफल हुन्छ ।
पार्क परिवारको अचानक घर फिर्ती पछि किम, उनको छोरा र छोरी राति नै आफ्नै अर्धभूमिगत घर फर्कन बाध्य हुन्छ । बेसरी परेको पानीले किमको अर्धभूमिगत घर र वरपरको बस्ती पूरै डुवाएको हुन्छ । बाढीले घरवार विहीन भएकाहरुको एउटै छट मुनिको वास हेर्दा लाग्छ, शहर पनि दुइटा छ, एउटा धनीको अर्को गरिवको ।
भोलि पल्ट पार्कको छोराको जन्म दिनको गार्डेन पार्टी घरमै मनाउने निधो हुन्छ । र, पार्टीमा जेसिकालाई आक्रमणको नाटक गर्ने र अन्तमा पार्कको छोराले जेसिकालाई बचाउने योजना बनाइन्छ । पार्टी चलिरहेकै हुन्छ । घर भित्रवाटै गार्डेन पार्टी हेरी रहेको कि उलाई हीन भावना जाग्छ र बंकरमा जान खोज्छ । मनस्थिति कमजोर भएको यही वेला उनलाई उनको भाग्यको प्रतिक ढुंगाले धोका दिन्छ । ढुंगा हातवाट चिप्लिएर बंकरमा खस्छ । ग्वाङको श्रीमान र कि उको बंकरभित्रै झगडा पर्छ । कि उ बंकरभन्दा माथि भाग्छ । ग्वाङको श्रीमानले पीछा गर्छ र कि उलाई भान्सा कोठामा घाइते बनाउन्छ ।
ग्वाङको श्रीमान पार्टीमा छिर्छ र उनले चक्कुले आक्रमण गरी जेसिकालाई मार्दिन्छ । पार्टीमा कोलाहल र भागदौड मचिन्छ । किमकी श्रीमतीले ग्वाङको श्रीमानलाई मार्छ । किमले आफ्नै मालिक पार्कलाई मार्छ र किम भूमिगत ठाउँमा लुक्न जान्छ । लगभग एक महिनापछि किमका छोरा कि उ निको हुन्छ । कि उले कल्पना गर्छ – आलिसान महल किन्ने, अनि आमा र वुवालाई खुशी दिने । तर उनको श्रमको कमाइले त्यो घर किन्न ५६४ वर्ष लाग्ने निर्देशक बोङ जुन होको गीतले भन्छ । त्यसैले कि उको कल्पना एक गरिव छोराको स्वैर कल्पना भएको निर्देशक तथा सहलेखक बोङ बताउन्छन् ।
चलचित्रको सन्देश:
सरसर्ती हेर्दा पारासाइट चलचित्र धनी हुनको लागि गरिवले गर्ने जालझेल र त्यसवाट सिर्जित समस्या जस्तो लाग्छ । तर असलमा यो चलचित्र समाजमा बढ्दो वर्ग अन्तर र त्यसले निम्त्याएको द्वन्द, आक्रोश अनि समस्याको अन्तहीन गोलचक्करको कथा हो ।
आधुनिकिकरणले गर्दा बढ्दो वर्गीय अन्तर, गरिव वर्गको अत्यन्त कष्टकर जीवनस्तर्, त्यसवाट उन्मुक्ति पाउने उत्कट प्यास, त्यसनिम्ति गरिने अर्थहीन प्रयास, सपना भन्दा बलियो यथार्थ, मनस्थिति भन्दा बलियो परिस्थिति र अन्तमा ‘खेलाडी’ फेरिने ‘खेल’ नफेरिने अन्तहीन दु:खको दुष्चक्र नै पारासाइट चलचित्रको अन्तरवस्तु या सार हो । चलचित्रमा बुनिएको यो कथा कोरियाली शहरको भए पनि व्यथा विश्वव्यापी छ । र, परिवन्दले मानिस कसरी परजीवी बन्न पुग्छ भन्नेवारे कलापूर्ण विचार पेश गर्न चलचित्र सफल छ ।
समाजमा एक वर्गले अर्कोलाई परजीवी सम्झे पनि चलचित्रको कटाक्ष सामजिक व्यवस्था, समाज र सपना माथि छ । त्यो सामाजिक व्यवस्था जसले धनी झन् धनी र गरिव झन् गरिव बनाउन्छ । जुन व्यवस्थामा कि उ जस्ता श्रमजीवीले पार्कको झै घर किन्न ५६४ वर्ष लाग्छ । त्यो समाज जसले जति धेरै धन उति धेरै इज्जत र सुविधा दिन्छ अर्थात जसरी नि धन कमाउन उत्प्रेरित गर्छ । अनि त्यो सपना जसले कहिल्यै पूरा नहुने आशा देखाएर मानिसलाई आफ्नो दास बनाउन्छ । र, चलचित्रको प्रश्न छ यही नियती, व्यवस्था र विवशताले गर्दा नै मानिसलाई परजीवी बनाउन्छ भने कोही कसैलाई किन दोष ?
चलचित्रको जिकिर छ – शुरुमा मानिसहरु परजीवी हुँदैनन् । तर परिस्थितिले गाँजेपछि परिबन्दले गर्दा सँगै हिंड्ने साथी, सँगै काम गर्ने सहकर्मी, सँगै बस्ने कामदार, वा एउटै ठाउँका छरछिमेकीहरु समेत परजीवी बन्न पुग्छन् । धन भएपछि जे पनि हुने र धन नभएपछि केही पनि नहुने जस्तो देखेपछि मानिसहरु धन या स्वार्थको लागि अनेक हत्कण्ठा अपनाउन थाल्छन् ।
समाजमा असलहरु सफल नहुने र सफलहरु असल नहुने देखेपछि मानिसहरु किम परिवारले झैं नक्कली नक्कली काम गर्न पुग्छन्। मेहनत गरेर होइन अनेक तिकड्म, जालझेल र धोखाधडी गरेर, अरुलाई चुसेर मात्र धनी बन्न सकिन्छ भन्ने सोच्न पुग्छन्।
स्वार्थमा अन्धो भएपछि मानिसहरु इमान, इज्जत, नैतिकता, मानवीयता, सहअस्तित्व, सहकार्य र आपसी सहयोग जस्ता कुराहरु विर्सिन थाल्छन् । पैसाको लागि जे पनि गर्ने गल्ती गर्न पुग्छन् । विस्तारै परिस्थिति मानिसले सोचेभन्दा वाहिर जान्छ र, अन्तमा मानिसहरु दु:ख पाउन्छन्।
चलचित्रको सन्देश छ आफू जहिले माथि उक्लिने वा धुरी चढ्न खोज्ने यो गलाघोट प्रतिस्पर्धामा असफल भएमा माथिको सिंढी उक्लिने होइन किम या ग्वाङको परिवार जस्तै भूमिगत बंकरमा खस्ने खतरा पनि उत्तिकै रहन्छ । अनि अर्को परजीवीको जन्म हुने सम्भावना पनि ।
गरिवलाई न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न धन चहिन्छ भने धन्नीलाई अरुलाई देखाउनको लागि धन चाही रहन्छ । त्यसैले गरिव धनी हुने र धनी झन् धनी हुने अनन्त दौडमा हुन्छ । समाजको यही अतृप्त मृगतृष्णा नै पनि परजीवी उत्पादनको अर्को आधार हो । चलचित्रको स्पष्टोक्ती छ ।
मुख्य कुरा हो, धनले सुख दिन्छ खुशी दिदैन । नत्र त धनीलाई अनेक वेचैनी र पीडा नहुनुपर्ने हो । मानिसको खुशीको आधार धन होइन मन हो ।
समाजमा धन हुने र नहुने मात्र होइन्, बल हुने र नहुने, बुद्धी हुने र नहुने, छल हुने र नहुनेवीच पनि द्वन्द छ । सारमा मन हुने र नहुने को द्वन्द छ समाजमा ।
धन हुँदैमा मन नहुने या हुने पनि होइन । धन नहुँदैमा मन हुने या नहुने पनि होइन । चलचित्रमा पनि यो देखाइएको छ । धनी पार्ककी जहान देखावटी नै भए पनि सँस्कारी देखिन्छन् , पार्क फेरि गरिवलाई लाईन क्रस नगर्न भन्छ । गरिवै भए पनि किम परिवारले छलछाम गरेको र आफू जस्तै गरिव ग्वाङ परिवारको दु:खमा साथ नदिएको देखिन्छ । पशुपतिप्रसाद चलचित्रमा हनुमानजीले ‘धन हुनेको मन हुन्न’ भन्दा पशुपतिप्रसादको प्रतिप्रश्न ‘गरिवै भए पनि मेरो मीत वुवाको कहाँ मन थियो र ?’ साँची नै अर्थपूर्ण छ । यो सचाइप्रति चलचित्र सचेत देखिन्छ ।
झट्ट हेर्दा एक वर्गको नजरमा अर्को परजीवी जस्तो देखिए पनि त्यसो भनी हाल्न नमिल्ने निर्देशक बोङ बताउन्छन् । किनभने मान्छेको मनमा मानवीय गुण र दानवीय गुण दुवै हुन्छ । कुन गुणलाई हावी बनाउने भन्ने मात्र कुरा हो । महान कलाकार भिन्चिले महान जिसस र फटाहा जुदासको चित्र एउटै व्यक्तिको अनुहार हेरेर बनाए भने जस्तै एउटै मानिसमा कहिले पवित्र भावना देखिन्छ भने कहिले दुष्ट आत्मा । परिस्थिति, परिवन्द र व्यवस्थाले फरक पार्छ मानिसको गुण र भावनामा ।
त्यसैले परजीवी को हो र यसो हुनुमा दोषी को हो? गरिवले गर्दा सुविधा भोग्ने धनी कि धनी ले गर्दा काम पाउने गरिव? कि उले जस्तै श्रम बेचेर धनी हुनै नसक्ने व्यवस्था आफै? यो व्यक्तिको कमजोरी मात्रै हो कि व्यवस्थाकै असफलता हो? यो छुट्याउने जिम्मा दर्शकलाई दिएका छन् निर्देशक तथ लेखक बोङले ।
परजीवी को हो, को होइन यसै भन्न त सकिन्न तर एउटा कुरा त यकिन गर्न सकिन्छ कि, मनले धनलाई जित्यो, इज्जतले पैसालाई जित्यो, मान्छेको दानवीय गुणलाई मानवीय गुणले जित्न सक्यो भने दु:ख र द्वन्द कम हुन्छ ।
पहिला कुनै समय थियो मानिस जातले ठूलो हुने । अहिले समय आएको छ धनले ठूलो हुने । तर मानिस दु:खवाट मुक्त त्यो वेला हुनेछ जुन वेला मानिस मनले ठूलो हुनेछ । परजीवी हुन होइन परोपकारी बन्न प्रतिस्पर्धा हुनेछ, गरिनेछ। पैसा भन्दा सेवा भावको मन ठूलो हुने त्यो वेला कुनै योजना पनि वनाउनु पर्ने छैन । र, किमले भने जस्तै योजना नभएपछि असफल हुने डर पनि हुन्न ।
प्रकाशित | ४ बैशाख २०७७, बिहीबार १६:३२