एनआरएनए ओसेनीया सम्मेलन: विश्वभरका एनआरएन अष्ट्रेलिया आउने क्रम जारी, अहिलेसम्म को-को आइपुगे ?

सिड्नी: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा विश्वभरीका एनआरएन अभियन्ता आउने क्रम जारी छ । सम्मेलन यही मे ११ र १२ मा हुँदैछ । एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीका अनुसार सम्मेलनको लागि अहिलेसम्म एनआरएन उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव बद्री केसी. एनआरएनए प्रवक्ता भुषण घिमिरे, एनआरएएन युरोप संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापालगायत आइसक्नु भएको छ ।सम्मेलनको लागि विश्वभरका एनआरएन अभियन्ताहरु आउने जारी रहेको संयोजक अधिकारीले बताउनुभयो ।

कार्यक्रममा अष्ट्रेलियाका उच्च राजनीतिक नेताहरुका साथै नेपालबाट कानुनमन्त्री भानुभक्त ढकालको उपस्थिती रहनेछ भने अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान, एनआरएन अध्यक्ष भवन भट्ट सहभागि हुनुहुनेछ । सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलन सिड्नीको हायात रीजेन्सी होटलमा हुनेछ ।

कार्यक्रममा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्नुहुनेछ । सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नाराका साथ गरिन लागिएको सम्मेलन नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कोशेढुंगा शावित हुने अपेक्षा गरिएको छ ।

सम्मेलनको पहिलो दिन नेपालमा गैर आवासीय नेपाली र लगानी सम्बन्धी, प्रर्यटन प्रबद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ भने दोस्रो दिन सिड्नी घोषणापत्र जारी गर्दै समापन गर्ने कार्यक्रम तय गरिएको संयोजक अधिकारीले जानकारी गराउनुभयो । सम्मेलनको लागि करिव ८० हजार अष्टेलियन डलर खर्च हुने अनुमान गरिएको छ ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १४:५९