फ्रान्सबाट कतार हुँदै आएकी एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको जानकारी गराउनुभएको छ ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको जानकारी गराउनुभएको हो ।

विदेशबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालको भनाइ छ ।

मन्त्रीले ढकालले उनको सम्पर्कमा आएका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको बताउनुभयो । उनी १९ वर्षीया युवती रहेको र अस्पतालमा उपचाररत रहेको पनि मन्त्री ढकालले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विदेशबाट आएका ७१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।


प्रकाशित | १० चैत्र २०७६, सोमबार १२:५६