इटलीका जेलहरुमा दंगा फैलिँदा कम्तीमा ६ जनाको मृत्यु

एजेन्सी : इटलीका जेलहरूमा कोरोनाभाइरस संक्रमरण रोक्ने प्रयासस्वरुप लगाइएका नियन्त्रणका उपायविरुद्ध प्रदर्शन भएपछि भएका झडपमा कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ ।

आगन्तुकहरूलाई आउन नदिइएपछि देशको उत्तरमा रहेको मोदेना जेलका कैदीहरूले एउटा भवनमा आगो लगाइदिएका थिए ।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार बढेपछि इटलीमा आइतवारदेखि १ करोड ६० लाख मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।

इटलीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ भने ९ हजार १ सय ७२ जना संक्रमित देखिएका छन् ।

प्रकोप नियन्त्रणका लागि आइतवार दशौं लाख मानिसहरूका लागि नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि मृतकको संख्यामा वृद्धि भइरहेको छ । इटलीका विद्यालय, व्यायामशाला, संग्रहालय, रात्रिक्लब र अन्य स्थल समेत ३ अप्रिलसम्मका लागि बन्द गरिएको छ ।


प्रकाशित | २७ फाल्गुन २०७६, मंगलवार ०९:१४