धरान दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

सुनसरी : सुनसरीमा दुर्घटनामा थप एकको मृत्यु भएको छ धरान ८ स्थित सेउती पुलनजिक शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरी आउदै गरेको बा २० च ४०७६ नम्बरको कारले सोही दिशातर्फ आउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिदाँ भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

चारकोशे जंगल स्थित कोशी राजमार्गको सो खण्डमा भएको दुर्घटना गम्भीर घाइते भएका कार चालक गोबिन्द बस्नेतको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि सो दुर्घटनामा ३ जनाको ज्यान गएको थियो। एक जनाको घटनास्थलमै र बाँकी २ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

दुर्घटना परी कारमा सवार इटहरी ५ का अनिल श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको थियो। जनक बुढाथोकी र मदन लिम्बूको वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक होमराज दाहालले जानकारी दिनुभयो ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १७:५८