झोलाभरि पैसा बोकेर निर्वाचन आफनो हातमा पार्ने प्रणालीको अन्त्य गरेरै छाड्छौं : कुमार पन्त

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले एनआरएनएमा धेरै सुधारको आवश्यकता रहेको बताउनुभएको छ । एनआरएनए यूकेको १५ औं स्थापना दिवसमा आयोजीत कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पन्तले संस्थामा धेरै सुधारको खाँचो रहेको भन्दै  निर्वाचनमा देखिएका विकृति अन्त्य गरेरै छाड्ने प्रतिबद्धता समेत दोहोर्याउनुभयो ।

आफूले निर्वाचन घोषणापत्रमा निशुल्क सदस्यता र अनलाइन भोटिगं कार्यान्वयन गर्ने विषयमा स्पष्ट उल्लेख गरेको भन्दै निर्वाचनमा झोलाभरि पैसा बोक्ने, पैसा प्रयोग गरेर निर्वाचन आफनो हातमा पार्ने वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गरेरै छाड्ने र सोहीअनुसार आफू अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

एनआरएनमा पञ्जीकृत सदस्यता बन्न पैसा नलाग्ने गरि कार्ययोजनालाई कार्यान्वयन गर्न लागिपरेको अध्यक्ष पन्तले बताउनुभयो । अध्यक्ष पन्तले भन्नुभयो, ‘प्रविधिको जमानामा घन्टौ लाईनमा बसेर काठमाडौंमा गएर किन भोट हाल्नुपर्यो, अब घरघरबाटै भोट हाल्न सकिने र आफनो नेतृत्व चयन गर्न सकिने गरि निर्वाचन प्रणाली परिवर्तन गरिन्छ ।’

अब घरमै बसेर अनलाइन भोट गर्न सकिने प्रणालीका लागि स्मार्ट एनआरएनको सबै प्रक्रिया अगाडि बढिसकेको समेत अध्यक्ष पन्तले जानकारी गराउनुभयो । स्मार्ट एनआरएनको महत्वपूर्ण काम सम्पन्न भइसकेको पन्तको भनाइ छ ।

निर्वाचनमा देखिएका विकृतिप्रति सचेत नभए एनआरएनएको भविष्यमाथि प्रश्नचिन्ह्र खडा हुने भन्दै निर्वाचन जित्नको लागि टिकट काटेर काठमाडौं लग्ने,, पैसा खर्च गरेर पञ्जीकृत सदस्य बनाइएको मान्छेले विवेकको प्रयोग गर्छ कि गर्दैन भन्ने अनुमान सहजै गर्न सकिने समेत बताउनुभयो ।

अध्यक्ष पन्तले आफू नेतृत्वमा आइसकेपछि धेरै कार्यमा सुधारको प्रयास भइरहेको बताउनुभयो । गैर आवासीय नेपाली नागरिकताको सवालमा निकै चासोका साथ नेपाल सरकारलाई दबाब दिने कार्य भइरहेको र गैर आवासीय नेपालीले नेपाली नागरिकता पाउँनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

अध्यक्ष पन्तले संस्थालाई आर्थिक पारदर्शी गराउनको लागि तीन तीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने परिपाटीको शूरुवात गरिएको र अहिलेसम्मको संस्थाको आर्थिक गतिविधी के कस्तो छ भन्ने जानकारी लिन डिडिए रिपोर्ट तयार पार्ने काम भइरहेको र सो रिपोर्ट छिट्टै सार्वजनीक हुने बताउनुभयो ।

साथै एनआरएनए भवन रहेको जग्गा किन्दा दलालहरुले फसाएको भन्दै ठगहरुको खोजी भइरहेको बताउनुभयो । सोही विषयमा पूर्वअध्यक्षहरुसहित संरक्षक सम्मिलीत बैठक समेत आगामी अप्रिल १३ तारिखमा राखिएको पन्तले बताउनुभयो ।

साथै एनआरएनएको लाप्राक प्रोजेक्टमा संघले गर्नुपर्ने काम सम्पन्न गरिसकेको जानकारी गराउनुहुँदै अबको दुई हप्तामा शौचालय निमार्णको काम सकिने र छिटो भन्दा छिटो हस्तान्तरणको लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।

पन्तले संस्थाले केहि नयाँ कार्यको शूरुवात गरिरहेको भन्दै जस अन्र्तगत काठमाडौंका ब्यस्त चोकहरुमा सार्वजनीक शौचालयको लागि सम्झौता भइसकेकाले सहयोगको लागि सबैमा आग्रह समेत गर्नुभयो ।


प्रकाशित | २३ फाल्गुन २०७६, शुक्रबार १४:०१