एनआरएन वक्तृत्वकला प्रतियोगितामा उत्साहजनक सहभागिता, २७ देशका ५८ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं – गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा हुन लागेको बक्तृत्वकला प्रतियोगितामा २७ देशका ५८ जनाले सहभागिता जनाएका छन् । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगिता हुन लागेको हो ।

एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा २७ देशका ५८ जनाले सहभागिता जनाएका हुन । कुनै पनि देशको स्थायी प्रमाणपत्र लिई दोस्रो पुस्ता सम्म बिताइ सक्नु भएका अभिभावकका बालबालिकाहरुलाई नेपाल राष्ट्र र राष्ट्रियतासँग प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगिताको फाइनल राउण्डमा एनआरएनए एनसिसीमार्फत प्रतिस्पर्धा गराउँदै तीन जनासम्मको नामावली आएको संयोजक कँडेलले जानकारी गराउनुभयो ।

अनलाईन जुम मार्फत (अडियो, भिडियो ) हुने सो प्रतियोगितामा सहभागि हुन नेपाल बाहेक विश्वमा बसोबास गर्ने विद्यार्थी हुनुपर्ने, १९ वर्ष नकाटेको हुनुपर्ने र प्रत्येक प्रतियोगिले बढीमा ३ मिनेट सम्मको भिडियो पठाउनुपर्ने नियम बनाइएको थियो । कार्यक्रम यही अगस्ट ९ तारिख आइतबार नेपालको समय ३ बजे हुँदैछ । प्रतियोगितामा सहभागीलाई अघिल्लो दिन शनीबार रिहर्सल गराइनेछ ।

प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई र अष्ट्रीयाका प्रतियोगीले नाम दर्ता गराएको संयोजक कँडेलले जानकारी दिनुभयो ।

संयोजक कँडेलका अनुसार प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेल र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहनु भएको छ । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा हुनुहुन्छ ।

प्रतियोगितामा विजेतालाई नगद तथा सर्टीफिकेटको ब्यवस्था गरिएको छ । एसिया प्याशिफिक डिआरसी समेत रहनु भएको पारसमणी पोखरेललका अनुसार पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार तथा प्रमाणपत्र सहितको पुरस्कार ब्यवस्था गरिएको छ । साथै प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगीका लागि एक जनालाई लिटल मास्टरको टाइटल प्रदान गरिनेछ । साथै एक जनालाई एनआरएन राइजिङ स्टारले सम्मान गरिने गरि तयारी गरिएको छ ।

सो प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कारको लागि डिपवेय फाउन्डेसनले आर्थिक सहयोग गरेको र अन्य सहयोग समेत उठ्ने क्रम जारी रहेको संयोजक कँडेलले बताउनुभयो ।

सो प्रतियोगितामा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले भिडियो सन्देश पनि पठाउनुभएको छ ।

गैर आवासीय नेपाली संघले विदेशमा स्थायी रुपमा बसोबास गरिरहेका अभिभावकका बालबालीकालाई देशप्रति माया जगाउन, नेपाली भाषा, संस्कृति, साहित्य र रहनसहनलगायतका विषयमा जानकारी दिने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेको छ । त्यसै सिलसिलामा विदेशमा रहेका दोस्रो पुस्ताका अभिभावकका बालबालीकालाई राष्ट्र तथा देशप्रति भावना जगाउन युवा कमिटीकै पहलमा यो अभियानलाई अगाडि बढाउने उद्देश्यले स्पीज कन्टेस्ट आयोजना गरिएको हो ।


प्रकाशित | २१ श्रावण २०७७, बुधबार १६:२५