यसरी मनाइन्छ भक्तपुरको बिस्केट जात्रा

भक्तपुर : संस्कृतिले धनी अनि मन्दिरै मन्दिरले भरिएको भक्तपुर शहरका बासिन्दा पुखौदेखि चल्दै आएको धर्म संस्कृति जर्गेनामा सक्रिय हुँदै आइरहेका छन् । त्यही परम्परागत धार्मिक तथा ऐतिहासिक संस्कृति संरक्षण गरेकै कारण भक्तपुरमा पर्यटकको ओइरो लाग्ने गरेको छ ।
वर्षभरि गाईजात्रा, इन्द्रजात्रा, पुलु किसी जात्रा, मूपात्र जात्रा, यामता जात्रा लगायतका जात्राहरुले भरिएको भक्तपुर हिजोआज भने बिस्केट जात्राको कारण बेफुर्सद छ । चैत्र शुक्ल मसान्त चार दिन अगाडि देखि वैशाख ६ गतेसम्म भक्तपुरमा मनाइने बिस्केट जात्रा आफैं थुप्रै जात्राहरुको संगालो हो । जात्रा भित्रको जात्राको अर्को नाम बिस्केट जात्रा भएको संस्कृतिविद् ओमहरि धौभडेल बताउँछन्

आठरात नौ दिन सम्म मनाइने बिस्केट जात्रा भित्र द्यःक्वाँहा बिज्याके गु जात्रा, द्यःथाहाँ बिज्याके गु भनिने भैरब भद्रकालीको जात्रा, योसीं थनेगु, योसीं क्वथेगु भनि चिनिने लिगों जात्रा, दुमाजु जात्रा, इन्द्रायणीको त्वरिवा जात्रा, बाराहीको टिप्वा जात्रा, महाकाली महालक्ष्मी जात्रा ब्रह्मायणी माहेश्वरी जात्रा, जेठागणेश बुल्चा भैरब जात्रा, इनारे गणेश (सूर्यविनायक गणेश) जात्रा, ल्हामरु योसीं जात्रा, छुम्ह गणेश जात्रा, द्यःस्वगं बियेगु जात्रा जस्ता थुप्रै जात्राहरु हुन्छ । भक्तपुरमा जस्तै वरपर थिमी, बोडे, नगदेश, कटुन्जे, गुण्डु, दधिकोट, ताथली, सुँडाल, साँगा, खड्पु, धुलिखेल, टोखा, थसी, सुनाकोठी, चौकोट जस्ता ठाँउहरुमा समेत आ आफ्नै प्रकारका बिस्केटसँग सम्बन्धित जात्रा मनाइने गरिन्छ । जसमा थिमी बोडे नगदेशको ३२ खटको जात्रा लगायत ठाँउ ठाँउमा लिगों उठाई स्थानीय देवदेवीको जात्रा गर्ने चलन रहेको छ । यस बाहेक वैशाख १ गते मेष सक्रान्तीको दिन भक्तपुरको योसीखेल स्थीत चुपींघाटमा दिनभर मेला लाग्छ । यही दिन दधिकोटको चरखण्डी तीर्थ र वागेश्वरीको वागेश्वर तीर्थमा मेला लाग्दछ । समग्रमा आठरात नौ दिनसम्म भक्तपुरलाई केन्द्र विन्दु वनाएर थुप्रै जात्रा तथा मेलाले बिस्केट जात्रा सम्पन्न हुने गरेको धौभडेल बताउँछन् ।

बिस्केट जात्राको बारेमा जानकारी नभएको सायद कोही नहोला । यो जात्रा देश विदेशमासमेत उत्तिकै प्रचार प्रसार भएको पाइन्छ । तर बिस्केट जात्राको महत्व र यो जात्राको पार्दुभाव कसरी भयो भन्ने विषयमा धेरैलाई जानकारी नभएको पनि हुन सक्छ । यो जात्राको नाम कसरी बिस्केट रहन गयो ? खोतल्ने हो भने जात्राको मात्र नभई भक्तपुर र समग्र नेपाल मण्डलको इतिहास देखा पर्न आउने बताउँदै धौभडेल भन्छन्, यस जात्राको नाम उल्लेख भएको सबैभन्दा पुरानो अनि भरपर्दो प्रमाण भनेको यक्ष मल्लको टौमढीको ने. सं.५६१ को शिलापत्र हो ।

जसमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर शहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कुतिको उल्लेख गर्ने क्रममा ‘वश्वजात्रा’ को उल्लेख भएको छ । जसमा स्पष्टभाषामा विश्वजात्रा भनि विस्केटलाई इंगित गरेको छ । यक्ष मल्लले के कति कारणले विश्व जात्रा भनिएको हो, त्यसबारे अलि गहन अध्ययन गर्नु आवश्यक छ । वास्तवमा बिस्केट जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन योसीं द्य(लिगों) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सक्रान्तिको दिन उक्त योसीं ढाल्नु हो । जुन दिन सूर्य विभिन्न १२ राशीको परिक्रमा पछि पुनःमेष राशीमा प्रवेश गर्ने भएर उक्त दिन मेष सक्रान्ति बाट पनि चिनिन्छ । यसरी चैत्र शुक्ल मसान्त र वैशाख सक्रान्तिको दिन मनाउने जात्रा विश्वकेतु जात्रा बाट प्रख्यात छ ।

यहि विश्वकेतु जात्रालाई यक्ष मल्लले ने.सं. ५६१ को टौमढीको शिलापत्रमा ‘विश्वजात्रा’ मात्र भनियो । ने.सं. ७१२ देखि बिस्केट जात्रा सम्बन्धमा टिपिएको नें संं. ९१८ मा लेखिएको ठ्यासफुसमा समेत ठाँउ ठाँउमा विश्वजात्रा नै भनिएको देखिन्छ । यता भक्तपुरमा ठाँउ ठाँउमा राखिएका बिस्केट सम्बन्धी शिलापत्रमा चाँही विसक्यात, बिसेक्यात जस्ता शब्दहरु परेको छ । जुन उही विश्वकेतुको अप्रभंष रुप हो । यसलाई मौखिकमा बिसका हुन पुग्यो यद्यपि हरेक नेवार जनसमुदायमा बिसका बाट बढी चिनिन्छ । यहि विश्वजात्रा, विसक्यात, विसका आम नेपालीको लागि बिस्केट बन्न पुगेको हो । विश्वकेतुलाई पछि गएर विश्वध्वजा पनि भनियो । र स्थानीय नेपालभाषामा हलिंपतले चिनिन्छ । जहाँ हलिमय भन्नाले विश्व अनि पत भन्नाले ध्वजा भनेर स्पष्ट छ । पछिल्ला समयमा यो विश्वध्वज अर्थात हलिंपत वीर ध्वजा बाट समेत चिनियो अर्थात बीजयको प्रतिक भएको धौभडेलको भनाइ छ ।

धौभडेलका अनुसार परापूर्व कालमा यो जात्रा दुई दिन मात्र मनाइथ्यो । चैत्र शुक्ल मसान्तको दिन विश्वकेतु सहित योसीं उठाउने जात्रा हुन्थ्यो भने बैशाख सक्रान्तीको दिन उक्त योसीं ढाल्ने नै विश्वकेतु जात्रा हो । जुन पछि कतै विश्वजात्रा, कतै विसक्यात हुदै जनजिव्रोमा बिसका हुनु पुग्यो भने लिखतमा बिस्केट रहन पुग्यो । काठमाडौको इन्द्रजात्रा ललितपुरको मच्छिन्द्रनाथको जात्रा झै भक्तपुरको नाम सँगै विस्केट जात्राको नाम जोडिन पुग्यो । कुनै बेला दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर विकास भयो । अझ भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधिनस्थ कयौं राज्य स्वतन्त्र हुदै भक्तपुरको भू भाग सानो हुदै गएकोलाई उनका छोरा भुवनमल्लले आप्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमी, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोट जस्ता ठाउँहरुमा समेत बिस्केट मनाउने चलन बनाए । यता भक्तपुरको विस्केट जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउने देखि अन्य देवदेवीहरुको समेत जात्रा पुजापर्व गर्ने परम्परा बसाउनमा भक्तपुरका विश्वमल्ल गंगारानी, जर्गज्योति मल्ल, जगतप्रकाश मल्ल, भुपतिन्द्र मल्लको ठूलो योगदान छ ।

मल्लकालको अन्तसम्म आईपुग्दा विस्केट जात्रा उपत्यकाकै भव्य रमणीय जात्रा हुनपुग्यो । जहाँ चैत्र शुक्ल मसान्तको चार दिन अगाडि भक्तपुर तौमढी टोल स्थित आकाश भैरवलाई तीनतल्ले भव्य रथमा विराजमान गराई जात्रा गरिन्छ । जसलाई द्यः क्वाहाँ विज्याकेगु (देवता तल सवारी हुने) जात्रा भनिन्छ । जहाँ भैरवनाथको साथमा दुईतल्ले अर्काे भव्य रथमा भद्रकाली राखी जात्रा गरेको हुन्छ । त्यसको भोलिपल्टको दिन शुन्य भनि आराम लिन्छ । त्यसको पछिल्लो दिनलाई स्याक्को टयाक्को कहलिन्छ । जुन दिन भैरवनाथ, भद्रकाली, बेताल, लगायत अष्टमातृका देवी स्थानमा बोका, कुुखुराको प्रशस्त बलि दिन्छ । चैत्र शुक्ल मसान्तको दिन भक्तपुरको योसीं खेल र तालाक्वमा योसीं उठाईन्छ । बैशाख १ गते योसीं खेलको योसीं ढाल्ने र भैरव भद्रकालीको रथ जुढाउने जात्रा हुन्छ । त्यसपछि क्रमशः अन्य ठाउँमा अन्य ठाउँमा पनि रथ वा खट जुढाउने जात्रा हुन्छ । जसमा बाराहीको टिप्वाजात्रा, इन्द्रजात्राको त्वारिवा जात्रा, दुमाजुको कोलुक्यात जात्रा, ब्रम्हायणी माहेश्वरीको जात्रा, महाकाली महालक्ष्मीको जात्रा, जेठागणेश र बुल्चा भैरवको जात्रा इनारे (सूर्यविनायक गणेशको) जात्रा आदि गरि भक्तपुर भरि र भक्तपुर बाहिर थिमी, बोडे, नगदेश, टोखा, सुनाकोठी, साँगा, धुलिखेल चौकोट, श्रीखण्डपुर जस्ता ठाउँहरुमा समेत कतै योसीं उठाउन्छ कतै स्थानीय देवदेवीहरुको जात्रा हुन्छ । त्यसमा पनि भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारी आदि देवदेवीहरुको जात्राले नगर शोभायमान हुन्छ ।

स्थानीय जात्राका रुपमा चर्चित यी सबै अन्य जात्राहरुको आ आप्mनै महत्व अनि विशेषता समेत छ । जुन यहाँको मुख्य जात्रा भनिएको योसीं जात्रा अथवा विश्वकेतु जात्रासँग सम्बन्धित हुन्छ । जस्तो योसीं उठाउनु पूर्व भैरव भद्रकालीको रथ योसीं खेल पु¥याउनु पर्छ । तलेजु भित्र दुमाजुको जात्रा सम्पन्न गर्नुपर्छ । खौमास्थित इन्द्रायणीको जात्रा सम्पन्न हुनुपर्छ र तलेजुको खड्गको उपस्थितिमा योसीं उठाईन्छ । योसीं उठी सकेपछि मात्र बाराहीको जात्रा हुन्छ । बैशाख १ गते योसीं ढाली सके पछि भैरव भद्रकालीको रथ गहिटी पु¥याई एक आपसमा जुढाइन्छ । त्यसपछि अन्य ठाउँको देवदेवीको खट वा रथ जुधाउने जात्रा हुन्छ । बैशाख २ गते थिमी बोडे नगदेश ठिमीको ३२ खटको जात्रा हुन्छ । यता सोही दिन साँझ भक्तपुरको भोलाछे टोल वरपर महाकाली महालक्ष्मीको जात्रा हुन्छ ।

बैशाख ३ गते नगरको पुर्वी भेगमा ब्रम्हायणी माहेश्वरीको जात्रा हुन्छ । त्यस्तै बोलाछेंमा बुल्चा भैरव र जेठा गणेश, तथा सूर्यविनायक गणेशको जात्रा हुन्छ । बैशाख ४ गते नगरभरिका गणेश, अष्टमातृका, भैरव लगायतको द्यः स्वंगबियेगु गरिन्छ र साँझतिर चोछेंको छुम्ह गणेशको जात्रा हुन्छ । बैशाख ५ गते विहान तालाक्व टोलमा ल्हामरु योसीं ढाल्ने जात्रा हुन्छ र साँझतिर गहिटीबाट भैरव भद्रकालीको रथ तानी टौमढी पु¥याएपछि एक बर्षको विस्केट जात्रा सम्पन्न हुन्छ ।

धौभडेल बिस्केट जात्राको ऐतिहासिकता बारे हिजोसम्म त्यति अनुसन्धान नभएको बताउँछन् । नेपालमा किराँती, लिच्छवी, मल्ल, शाह हुँदै अहिले लोकतन्त्र आएको अवस्थामा बिस्केट जात्रा एउटा वंशको पतन र अर्को वंशको उदयमा खुशियालीसंग मनाएको जात्रा भन्ने गरिएको कतिको सान्दर्भिक छ, अध्ययन गर्नुपर्ने हुन्छ, उनी भन्छन्,ऐतिहासिकता सोधखोजको कमी जतिसुकै भएपनि यहाँ जोडिएका प्रशस्त किम्वदन्ती आख्यानले यो जात्रा बढी प्रख्यात छ ।’

एउटा राजनैतिक उदेश्यले अभिप्रेरित जात्रालाई धर्मभिरु जनताबिच बेरोकटोक बनाउनु पछि यस्तै यस्तै आख्यानहरुले ठुलो भुमिका खेलेको छ । लिगोंमा उठाउने ध्वजालाई नागनागिनीको संज्ञा दिनु, राजकुमारीको नाकबाट निस्केको नागले दिनको एकजना राजकुमार मार्नु, काशीबाट विश्वनाथ भगवान जात्रा हेर्न आउँदा उनको टाउको काटिनु, भैरव भद्रकाली श्रीमान श्रीमति हुनु, जस्ता थुप्रै थुप्रै कहावत र ती कहावत अनुसारका धार्मिक सांस्कृतिक क्रियाकलाप जात्राको क्रममा गरिनुबाट बिस्केट जात्रा चलाउने शासकहरुले जस्तोसुकै स्वार्थले जात्रा चलाएको भएतापनि यहाँका जनताहरुले यो जात्रालाई अत्यन्त श्रद्धापूर्वक मनाएको बाट एक पछि अर्को पुस्ता हुँदै यो जात्रा प्रत्येक वर्ष धुमधामसंग मनाउदै आएको छ ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १५:३२