अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ

सिड्नी : अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थीतिमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको हो ।

मन्त्री भट्टराईसहित न्यु साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा त्यहाँका विपक्षी दलका नेता, नगरपालिका प्रतिनिधि लगायतले शुभकामना दिनु भएको थियो ।

शुभारम्भमा मन्त्रीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहानुभूति प्रकट गर्नुभएको थियो । उहाँले नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताउदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गर्नुभएको थियो ।

न्यु साउथ वेल्सको प्रदेश सभाका सम्माननीय सभामुख जोनाथन वडीले नेपाल सुन्दर मुलुक भएको र एक पटक हेर्न पर्ने बताउनुभयो । एनएसडब्लुका पूर्वप्रिमियर नाथन रिजले अस्ट्रेलियामा नेपाली समुदायको परिचय महत्वपूर्ण बन्दै गएको बताउँदै आफू मार्च महिनामा नेपाल जान लागेको जानकारी दिनुभयो ।

त्यही क्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग संकलन समेत गर्नुभएको थियो । यसपछि केही बेर मौन र्‍याली समेत निकालिएको थियो । सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म निकालिएको मौन र्‍यालीमा नेपालीहरु आ आफ्नो सास्कृतिक पहिरन र पहिचान सहित सहभागी थिए ।

तस्बिर : रमेश पौडेल

र्‍यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जनसहित १०० भन्दा बढी सहभागी हुनुहुन्थ्यो । तर, ओपेरा हाउस पुगेपछि सुरक्षाकर्मीहरुले सहभागीहरुलाई व्यवसायिक ब्यानरसहित नजान अनुरोध गरेको थियो । प्रहरीका अनुरोधलाई स्वीकार्दै सहभागीहरुले ब्यानर हटाएर ओपेरा हाउस पुगेका थिए ।

प्रकाशित | २२ पुष २०७६, मंगलवार १६:३१