अष्ट्रेलियाको मेलबर्नको पहिलो न्याभ मल्टिकल्चरल सकर टुर्नामेण्टमा एल्बियन थण्डर क्लब बिजयी

सुशील चालिसे /मेलबर्न

नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको आयोजना तथा रोयल वेस्टर्न क्लबको सहकार्यमा सम्पन्न पहिलो न्याभ मल्टिकल्चरल सकर प्रतियोगितामा एल्बियन थण्डर फुटबल क्लबले पहिलो स्थान हासिल गर्न सफल भएको छ भने रोयल वेस्टर्न क्लब रनर अप भएको छ ।

शनिबार २२ तारिखका दिन केइलर पार्क सकर क्लब, स्टेडियम ड्राइभ, केइलर पार्कमा सम्पन्न प्रतियोगितामा बिभिन्न समुदायहरुबाट जम्मा ८ वटा फुटबल क्लबहरुले भाग लिएका थिए । प्रतियोगितामा बिजयी क्लबका खेलाडीहरुलाई प्रतियोगितामा आमन्त्रित बरिस्ठ अतिथिहरु संघीय सरकारका सांसद डयानियल मुलिनो, राज्य सरकारका सांसद कौशलिया भगेला, ब्रिमब्याङ्क सिटी काउन्सिलका उप-मेयर किम थियन त्रुंग, 3ZZZ रेडियोका अध्यक्ष जर्ज सलोउम लगाएत नेपाली संघ संस्थाका प्रतिनिधिहरुले ट्रफी, मेडल तथा सर्टिफिकेट वितरण गरेका थिए । उक्त प्रतियोगितामा Fair Play , High Scorer , Best Keeper , Player of the Tournament गरी बिभिन्न क्याटेगोरीमा पुरस्कार वितरण गरिएको थियो ।

खेलको माध्यमबाट भिक्टोरियामा रहेका विभिन्न समुदाय बिच साँस्कृतिक सद्भाव बढाउने उदेश्यले आयोजित टुर्नामेण्टको उद्घाटन समारोहमा ब्रिमब्यांक सिटी काउन्सिलका मेयर जर्जिना पापा फोटीओउले प्रतियोगिताको सफलताको सुभकामना व्यक्त गरेकी थिइन ।

पुरस्कार वितरण समारोहमा मन्तब्य व्यक्त गर्दै संघीय सरकारका सांसद डयानियल मुलिनो, राज्य सरकारका सांसद कौशलिया भगेलाले दुइ नेपाली संस्थाहरु मिलि संचालन गरेको यस प्रतियोगिता एउटा राम्रो उदाहरण भएको र आगामी दिनहरुमा बिभिन्न कार्यक्रमहरुका लागि सक्दो सहयोग गर्ने बताएका थिए भने बिजयी खेलाडीहरु क्लब लगाएत आयोजक संस्थालाई बधाई ज्ञापन गरेका थिए ।

प्रतियोगितामा उपस्थित सम्पूर्ण अतिथिहरु, रेफ्री, खेलाडी, खेलप्रेमी दर्शक, स्वयंसेवक, मेडियाकर्मी, पत्रकारहरुलाई आयोजक संस्था न्याभका अध्यक्ष तारा गैरेले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने रोयल वेस्टर्न क्लबका अध्यक्ष बम योन्जनले धन्यबाद व्यक्त गरेका थिए । भिक्टोरियन मल्टीकल्चरल कमिसनको अनुदान, लेकाली रेस्टुरेन्ट हस्पिटालिटी पार्टनर, Expert Education and Visa Services र Solve Education ले स्पोन्सर गरेको तथा एनआरएनए भिक्टोरियाको साथ रहेको यस टुर्नामेन्टमा केटाकेटीहरुको लागि फेस पेन्टिङ, जम्पिंग क्यासल, किड्स फनको पनि ब्यबस्था रहेको थियो ।


प्रकाशित | १३ फाल्गुन २०७६, मंगलवार २२:१७