प्रदेश १: ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट सार्वजनिक

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख बजेट सार्वजनीक गर्नु भएको हो । मंगलबार प्रदेशसभामा पेस गरेको वार्षिक बजेटमा चालुतर्फ ४३.६ प्रतिशत र पुँजीगततर्फ ४६.३ प्रतिशत बजेट छुट्याइएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटभन्दा करिब ७ अर्ब कम आकारको बजेट ल्याएको हो । अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ । बाँकी स्रोतमा केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँटतर्फ ९ अर्ब १ करोड ६६ लाख, समानीकरण अनुदानतर्फ ८ अर्ब ५६ करोड, सशर्त अनुदानतर्फ ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १६ करोड ४ लाख र विशेष अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तीय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने प्रदेश सरकारको अनुमान छ ।

प्रदेश सरकारको बचत २ अर्ब रुपैयाँ छ भने वैदेशिक अनुदान २६ करोड १३ लाख व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रका निमित्त ३ अर्ब २५ करोड बजेट छुट्याएको छ। आर्थिक मामिला तथा योजना आङ्बुहाङले स्वास्थ्य क्षेत्रको सुधारका निमित्त ३ अर्ब २५ करोड रुपैयाँ छुट्याएको जानकारी दिनु भयो ।

त्यस्तै प्रदेश सरकारले कोसी कोभिड अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने घोषणा गरेको छ। मन्त्री आङबुहाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ४४ करोड विनियोजन गरेको बताउनु भयो । त्यसैगरी शिक्षा क्षेत्रमा १ अर्ब १९ करोड र कृषि क्षेत्रमा २ अर्ब ९० करोड विनियोजन गरेको छ ।


प्रकाशित | १ असार २०७८, मंगलवार १८:०४