श्रीलंकाका थरंगाले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं : श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् । श्रीलंकन राष्ट्रिय टोलीका थरंगाले साविक विजेता ललितपुर प्याट्रियट्सबाट ईपीएलमा खेल्ने भएका हुन् ।

ललितपुरका प्रशिक्षक राजु बस्न्यातले थरंगाले क्लबबाट खेल्ने पक्का भएको बताए ।  ‘उपुलले टिमबाट खेल्ने पक्का भएको छ । अब हामी २३ गते सबै खेलाडीबारे सार्वजनिक गर्ने छौँ’, प्रशिक्षक बस्न्यातले भने ।

यस्तै बस्न्यातले अन्य विदेशी खेलाडीसँग पनि क्लबले छलफल गरिरहेको बताए । आक्रामक ब्याट्सम्यान तथा विकेटकिपर ३४ वर्षीय थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २ सय ३५ एकदिवसीय र २६ टी(ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

यस्तै ललितपुरले सोमबार प्रेस विज्ञप्ति निकाल्दै थरंगाले खेल्ने पक्का भएको जनाएको छ ।

‘ललितपुरमा विकेटकिपर ब्याट्सम्यान थरंगाको उपस्थितिले टिमको सन्तुलन मिल्नेछ । हामी हाम्रो युवा खेलाडीलाई उनको मार्गनिदेशन दिन खोजिरहेका छौँ । ड्रेसिङ रुममा हाम्रा खेलाडीले पक्कै केहि सिक्ने छन्’,  ललितपुरका मालिक किशोर महर्जनले विज्ञप्तिमा भनेका छन् ।

यस्तै थरंगाले नेपाली क्रिकेटका युवा पुस्तालाई आफ्नो ज्ञान बाड्न आफु तयार रहेको बताए । ‘ईपीएलमा ललितपुरको सदस्य बन्न पाएकोमा सम्मानित महसुस गरेको छु । नेपालको बढ्दो क्रिकेट संस्कृतिको अंश हुन पाउँदा खुसी छु र आउँदो वर्षहरूमा पनि सामेल हुन चाहन्छु,ु थरंगाले भनेका छन्’, नेपाली क्रिकेटरको युवा पुस्तालाई म मेरो ज्ञान साझा गर्न तयार छु।’

यस अघि भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।


प्रकाशित | १३ माघ २०७६, सोमबार १८:३५