देशभर वर्षा हुने क्रम जारी, कहाँ कति वर्षा ?

काठमाडौं : आइतबारदेखि देशभर वर्षा हुने क्रम जारी छ । गत २४ घण्टामा सिमरामा सबैभन्दा धेरै १०८ मिलिमिटर वर्षा भएको छ । पोखरामा १०७, जनकपुरमा १०४, ओखलढुंगामा ९१, काठमाडौंमा ७८, लुम्लेमा ७५ मिमिमिटर वर्ष भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, धनगढीमा ६१, ताप्लेजुङमा ५९, दोलखाको जिरि र दाङको घोराही र धरानमा ५४ मिलिमिटर वर्षा मापन भएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परेको छ । यो अझै बढेर २ सय मिलिलिटर पुग्ने सम्भावना छ । न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको महानिर्देशक वैद्यले बताउनुभयो । उहाँका अनुसार साउन ९ गते पछि मात्र क्रमशः पानी पर्ने क्रम कम हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको अवस्था छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ । रातिपनि प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।वर्षा धेरै हुने स्थानमा बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै महाशाखाले सचेत रहन अनुरोध समेत गरेको छ ।


प्रकाशित | ६ श्रावण २०७७, मंगलवार १०:०८