कोरोना संक्रमित १ लाखभन्दा बढी उपचारपछि निको भए

काठमाडौं- कोरोना भाइरसको संक्रमण देखिएका १ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको सूचीमा नेपाली समयअनुसार मंगलबार बिहान ८ बजेको तथ्यांक हेर्दा १ लाख ९ सय ८५ मानिस उपचार पछि निको भएका हुन्।

कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेइमा मात्र ५९ हजार ८ सय ८२ जना उपचार पछि निको भएका हुन्। यसैगरी इरानमा ८ हजार ३ सय ७६ जना पनि उपचारपछि निको भएका छन्।

इटलीमा ७ हजार ४ सय ३२ जनामा उपचार सफल भएको छ भने स्पेनका ३ हजार ३ सय ५५ जना उपचारपछि घर फर्किएका छन्। दक्षिण कोरियाका ३ हजार १ सय ६६ जना घर फर्किए भने फ्रान्सका २ हजार २ सय उपचारपछि घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण १६ हजार ५ सय ८ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३ लाख ७८ हजार ६ सय ७९ पुगेको छ।


प्रकाशित | ११ चैत्र २०७६, मंगलवार १०:४८