सांसद बस्नेतद्वारा भक्तपुरलाई आधुनिक र समृद्ध बनाउने योजना सार्वजनिक

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति तथा ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समति युवा क्रियाकलाप समाजद्वारा १०० घ.मि. खानेपानी ट्याङ्कीको उद्घाटन भएको छ ।

११ आना जग्गामा रु ४३ लाखको लागतमा एक लाख ३० हजार लिटर क्षमता भएको उक्त ट्याङ्कीको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एक भव्य कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । उक्त ट्याङ्की निर्माणसँगै सिपाडोलमा खानेपानीको समस्या न्युनिकरण भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले समग्र भक्तपुरको विकास र समृद्धिको विगत, वर्तमान र भविष्यको वारेमा विश्लेषण गर्दै आफ्नो नेतृत्वमा आगामी दिनमा आधुनिक र समृद्ध भक्तपुरका योजनाहरु जनतमाझ स्पष्ट पार्नुभएको छ । विगतका जनप्रतिनिधिका कारण भक्तपुर विकासले तिर्खाएको उल्लेख गर्दै उहाँले आगामी दिनमा भक्तपुरका जनताले विकासको तिर्खा मेट्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा भक्तपुर विकासको दृष्टिकोणले वक्तिमुनीको अध्यारो जस्तै भएर बस्नु पर्यो । अब त्यो दिन सकिँदै गयो । भक्तपुर विकास र आर्थिक समृद्धि विना वस्न सक्दैन । संघियताको कार्यान्वयनसँगै तीनवटै सरकारले भक्तपुरको विकासलाई मूख्य केन्द्रको रुपमा राखेका छन् । जसको पुलको रुपमा मेरो भूमिका रहन्छ । विकासको सारथीको रुपमा रहन्छ । जनतको चाहना र आवश्यकतालाई मध्यनजर गरी विकासको गतिलाई तिव्रता दिन्छु ।’

विगत लामो समयसम्म भक्तपुर आफ्नो घर हो भन्दा शिर झुकाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा शिर ठाडो बनाएर गौरवका साथ मेरो घर भक्तपुर हो भन्ने अवस्था सिर्जना भएको दावी गर्नुभयो । वर्तमान समयका जनप्रतिनिधि निर्वाचित भएसँगै भक्तपुरमा सडक, ढल, खानेपानी, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, ठूला साना पुललगायतका असंख्य योजनाहरु व्यापक मात्रामा अघि बढेको जानकारी गराउनुभयो ।

जनताको आवश्यकता र चाहना अनुसार सडक विस्तार हुने बताउँदै उहाँले सडक नभएकोमा सडकको निर्माण, कच्ची सडक भएकोमा ग्राभेल, ग्राभेल भएकोमा कालोपत्रे, साना सडक भएको ठाउँमा ठूला ठूला सडक निर्माणको क्रममा रहेको समेत उहाँले विस्तृत रुपमा उल्लेख गर्नुभयो । भक्तपुरका जनतामा हासो र चमक आउन प्रकारका काम भइरहेको उल्लेख गर्दै उहाँले प्रशासनीक तथा नीतिगत कुराहरुले केही मात्रामा भएका समस्याहरुलाई ढिला भएपनि व्यवस्थित रुपमा संचालन गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष किरण थापा, गैरसरकारी महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने आर्थिक तथा संस्थागत प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट सहयोग गर्नेलाई सम्मान गरिएको छ ।

सांसद बस्नेतले आधुनिक तथा समृद्ध भक्तपुर बनाउने महत्वकांक्षी योजनाहरु निम्नानुसार रहेका छन्,:-

१. सूर्यविनाकय धुलिखेल ६ लेनको सडक निर्माण,

२. आधुनिक अन्तर्राष्ट्रिय रंगशालाको निर्माण,

३. आधुनिक सभागृहको निर्माण,

४. आधुनीक वीर अस्पतालको निर्माण,

५. बहुप्रतिष्ठित हनुमन्ते नदीको कोरिडोर निर्माण,

६. राष्ट्रिय प्राणी उद्यान,

७. स्मार्ट सिटी,

८. सर्भिस ट्र्याक निर्माण,

९. सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनलगातको विकास,

१०. इको भिलेज,

११. ग्रामिण पर्यटकीय स्थलको विकास तथा संरक्षण

१२. अव्यवस्थित रहेको विजुलीको तारलाई अण्डरग्राउण्ड,

१३. एक वडा एक मुल सडक तथा भौतिक पूर्वाधारको विकास,

१४. भक्तपुरमा जहाँ जनमूखि योजना त्यहाँ तीनै तहका सरकारबाट बजेट,

१५. साना सडकलाई ठूलो सडक, ठूलो सडकलाई कालोपत्रे तथा अन्तर्राष्ट्रिय स्तरका सडक विस्तार,

१६. भक्तपुर र काभ्रेलाई जोड्ने सडक सञ्जाल विस्तार गर्ने,

१७. यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका ६ वटा कार्यालयलाई २५ रोपनी जग्गामा व्यवस्थित तथा आधुनिक तवरले निर्माण गर्ने र भक्तपुरको सदरमुकामको रुपमा स्थापीत गर्ने,

१८. कृषिमा आधुनिकीकरण, यान्त्रीकरण तथा वैज्ञानिकीकरण गर्ने,

१९. कालिमाटीको विकल्पको रुपमा आधुनिक कृषि बजार निर्माण गर्ने,

२०. सुरुङ मार्ग निर्माण गर्ने,

२१. अलपत्र परेका सवै सडकहरु यो वर्ष नै निर्माण गर्ने,

२२. व्यस्त बजारमा वान वे को विकास गर्ने,

२३. जडिबुटीको जामलाई अन्त्य गर्न सर्भिस ट्र्याक निर्माण गर्ने,

२४. बेलिव्रीज निर्माण सँगै मनोहरा तथा हनुमन्ते करिडोर सञ्चालनमा ल्याउने र कोटेश्व–जडिबुटीको सवारी जामलाई न्युनिकरण गर्ने,

२५. कन्भेन्सन हलको निर्माण गर्ने लगायतका रहेका छन।


प्रकाशित | २१ पुष २०७६, सोमबार ०८:४१