अनु राई
संसारभरि फैलिरहेको कोरोना महामारी (कोभिड १९) को प्रकोपले मेरो कर्मथलो हङकङ पनि अछुतो रहन सकेको छैन । हङकङ जस्तो ब्यस्त देश तथा शहर जहाँ संसारभरिका मानीसहरु आउँने जाने क्रम रहनुको साथै रात दिन नभनी मानीसहरु आफनो काममा ब्यस्त रहन्छन । चाइनिज नयाँ वर्ष २०२० को आगमन सँगै हामीले कोरोना (कोभिड १९) को बारेमा जानकारी पायौं । शूरुमा साधारण फलू जस्तो लागेर अटेर गरे पनि विस्तारै विस्तारै यसको बारेमा सत्य तथ्य कुरा थाहा हुन थालेपछि हङकङबासीहरुले पूर्ण सतर्कता अपनाउन थाले । मास्क, सेनीटाइजर, ग्लोक्स जस्ता सामानहरु बजारमा लिनेको भिड लाग्न थाल्यो । एक समय यस्तो पनि आयो कि हामी नेपालीहरुले नेपाल र यूकेबाट मास्कहरु मगाउनुपर्ने भयो । जसले गर्दा एनआरएनए हङकङ र अन्य विभिन्न नेपाली संघसंस्थाले पनि मास्क, सेनिटाइजर वितरण गरिएको थियो । तर विस्तारै हङकङ सरकारले मागअनुसारको पूर्ति पनि गर्न थाल्यो । त्यसपछि हामी सबै अली ढुक्क भयौं । साथै चाइनाले लकडाउन र हङकङले चाइनाबाट आउने सबै मार्गहरु बन्द गरे पछि हङकङमा त्यति धेरै कोरोना फैलने मौका पाएन । अर्को कुरा हङकङ लकडाउन नभए पनि हङकङबासीहरुले पूर्ण सतर्कता अपनाएको कारण पनि कोभिड १९ ले हङकङमा आफनो ताण्डव देखाउन सकेन । अहिलेसम्म ४ जनाको मृत्यु र केहि संक्रमीत भएका छन् जो स्वस्थ हुँदै घर फर्कदै छन् । तर पनि हामीले अझ सतर्कता अपनाउन आवश्यक देखिन्छ । ठूला ठूला कार्यक्रम, भेला, सभा समारोह बन्द गरिएको छ । ४ जनाभन्दा बढी भेला हुन नपाउने नियम छ । अत्यावश्यक काममा बाहिर हिड्नु परेमा मास्क अनीवार्य छ । साबुनपानीले हात धोइरहने, बिनाकारण घर बाहिर ननिस्कले, काममा जाँदा आउँदा सतर्कता अपनाउने जस्ता सावधानीले पनि हङकङ चाइनासँगै जोडिएको भएता पनि अन्य देशको भन्दा कम संक्रमीत छ ।
अब मेरो अनुभवमा म स्वयंम कम्पनीको सेलमा काम गर्ने भएकोले प्रत्येक दिन अनगिन्ती कष्टमरहरुको सम्पर्कमा आउँनु पर्ने मेरो बाध्यता थियो । हरेक दिन घरबाट निस्कंदा कुनै एउटा युद्धमा लड्न हिडेकी योद्धा जस्तै कुन बेला को बाट, कसरी कोरोना संक्रमण हुने हो भन्ने एक प्रकारको भय भइरहन्थ्यो । हरेक कष्टमरले आफूलाई शंकाको दृष्टिकोणले हेर्ने र हरेक कष्टमरहरुलाई आफूले पनि शंकाको दृष्टिकोणले हेर्दै सामान खरिद बिक्री गर्नुपर्ने बाध्यता थियो । कुनै बेला कष्टमर आउँदै गर्दा यतिकै खोकी दिंदा कष्टमर फर्केर गएको देख्दा रमाइलो अनी हाँसो पनि लाग्ने गर्दथ्यो । साथै बाटोमा हिडेको बेला मर्की लाग्दा, खोकी लाग्दा नजिकै रहेको प्यासेनजरले शंकाको दृष्टिकोणले हेर्ने, ठाउँ सर्ने, त्यत्तिकै नजिक रहेको प्यासेन्जरले खोकी दिदां आफू पनि ठाउँ सरेर भागेको विभिन्न खालका अनूभूति भोग्नु पर्यो ।
मार्च १० मा केहि पर्सनल कामले १५ दिनको लागि नेपाल आएकी थिएँ । समय छोटो र समय नराम्रो भएकाले कसैसँग नभेटी आफनो काम सकेर हङकङ फर्कने तयारी गर्दा गर्दै नेपाल सरकारद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा जोखीम न्यूनीकरणको लागि देशब्यापी रुपमा लकडाउन भयो । दुई दिनको लागि उर्लाबारी (मोरङ) घर आएको बेला यहीँ लकडाउनमा परेँ । आफनै गाउँ, आफनै ठाउँ आउँदा पनि कसैलाई आए है भन्न सकिन । किनकी विदेशबाट आउँने नेपालीहरुद्धारा कोरोना नेपालमा भित्रीएको समाचार सँगै हामी विदेशबाट आउने नेपालीहरुलाई शंकाको दृष्टिकोणले हेर्ने, भयभीत हुने र भेट्न नचाहाने जानकारी विभिन्न सामाजीक सञ्जालको माध्यमबाट भइरहेको थियो । हुन पनि विदेशबाट नेपाल फर्किएका मानीसहरुमा कोभिड १९ भएको पुष्टि भइरहेको थियो । अहिले नेपालमा लकडाउन भएको एक महिना बितेको छ । अहिलेसम्म लकडाउनको पूर्ण पालना गर्दै घरमै बसीरहेकी छु । साथीभाई आफन्तहरुलाई चाहेर पनि भेट गर्न सकिरहेकी छैन । अर्को कुरा, अहिलेको अवस्थालाई ध्यानमा राख्दै यहाँहरुले पनि भेट्न चाहिरहनु भएको छैन । यति बेला घरमै रहँदा बढी सुरक्षीत रहन सकिन्छ भन्ने कुरा सबैले बुझीरहनु भएको छ र बुझन पनि आवश्यक छ ।
संसारभरि फैलिरहेको महामारी कोरोनाको कारण मानिसहरु संक्रमीत मात्र नभई विपन्न वर्गका अनाथ असक्तहरु रोजी रोटीको समस्यामा गुज्रीरहेका छन् । आर्थिक रुपमा कमजोर भएका मानीसहरु लामो समय घरभित्रै बस्नुपर्दा छाक टार्न सकिरहेका छैन । यसै सिलसिलामा कोरोनाले गर्दा समस्यामा परेका ती वर्गका मानीसहरुलाई आफू रहेको उर्लाबारी नगरपालिकामार्फत सहयोग गर्ने अवसर पनि मिलेको छ । जस अन्तर्गत उर्लाबारी नगरपालीकाद्धारा संचालीत नगर भित्र रहेका विपन्न वर्गहरुको लागि खडा गरिएको राहत कोषमा हाम्रो परिवार तीन दिदी बहिनीहरु आफूसहित कुशुम योञ्जङ (काठमाडौं), पुष्पा योञ्जङ (यूके) को तर्फबाट ३० हजार वरावरको खाद्यान्न जम्मा गरि सहयोग गर्न सफल भएका छौ । उर्लाबारी परिवार हङकङद्धारा उर्लाबारी नगरपालिकाको राहत कोषमा १ लाख ६० हजार ५ सय वरावरको राहत जम्मा गर्ने कार्यमा पनि सरिक हुने मौका मिल्यो । साथै उर्लाबारी नमूना बालगृहमा रहेका अनाथ बालबालीकाहरुलाई १ लाख २ हजार ९ सय ८५ बरावरको खाद्यान्न सहयोग गर्ने कार्यमा पनि पहल गरियो । यसरी आफनो ठाउँको लागि लकडाउनको बेलामा केहि गर्न सकिएकोमा खुसी महसुस गरिरहेकी छु । यी दिनहरुमा उर्लाबारी नगरपालिकामा रहनुहुने विशिष्ट ब्यक्तीत्वहरु, अग्रजहरु, साथी भाईहरुसँग भेट्ने मौका पाइयो । यहाँहरु सँग भेट्ने क्रममा सामाजीक दूरीलाई पालना गर्दै टाढै बाट छोटो कुराहरु गरिएको पाउँदा नगरपालिका भित्र नियम राम्रो सँग पालना भएको पाइयो । यो देखेर म निकै खुसी भएकी छु । किनकी नगरपालिका र नगरबासीहरु कोरोना विरुद्धको युद्धमा जीत हात पार्न जस्तोसुकै लडाई लड्न पनि तयार हुनुहुन्छ भन्ने यो सन्देश पनि हो ।
हङकङमा आफू सधै ब्यस्त रहेकीले अहिले स्कूले जीवनका, कलेज जीवनका साथीहरु, आफन्तहरुसँग बोल्ने मौका पाइरहेकी छु । लकडाउनमा घरमै ब्यायामहरु गर्ने, संगीत सुन्ने,समाचारहरु सुन्ने, पढ्ने गरेर समय ब्यतीत गरिरहेकी छु । विवाह भएपछि माईतमा दुई दिनभन्दा बढी बस्ने मौका नपाएको मैले लकडाउनमा माईतीघरमा कान्छा दाजु भाउजुको माया पाएर छोरी ओलीमसँग रमाइरहेकी छु । कर्मथलो हङकङ फर्किए पछि एनआरएनए महिला फोरम र महिला संघ हङकङद्धारा स्थगीत गरिएको कोभिड १९ को कोष सँगै महत्वपूर्ण कार्यहरुको बारेमा योजना बनाउँदै छु । हङकङमा रहेको मेरो परिवार, साथी भाईहरुलाई मिस गरिरहेकी छु ।
भगवान सँग यही प्राथना गर्दछु कि कोरोना (कोभिड १९ ) महामारीबाट चाँडै संसार मुक्त होस । जीवन सरल तरिकाले चल्न शूरु होस । कोभिड १९ बाट संक्रमीत सबै स्वस्थ भएर घर फर्कन सकून । लकडाउनले बिचल्ली परेकाहरु सकुशल घर फर्कन सकून । रोजगार चाँडै खुलोस । सम्पूर्ण परिवार, समाज र विश्वमा नै खुसीयाली छाओस । घरमै रहनुहोस, सुरक्षीत रहनुहोस । लकडाउनको पूर्ण पालना गरौ । आफू पनि बाँचौ र अरुलाई पनि बचाउन सहयोग गरौ । धन्यवाद ।
लेखक अनु राई गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको महिला फोरम संयोजक हुनुहुन्छ ।
प्रकाशित | ११ बैशाख २०७७, बिहीबार ०२:२२