मलेसिया जान श्रम स्वीकृति लिने दोब्बर, मलेसिया खुलेपछि ७ हजार युवाले लिए श्रम स्वीकृति

गोपाल संग्रौला /काठमाडौं

कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् । २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ ।कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् ।

२ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ ।भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएपछि कात्तिक र मंसिरमा ७ हजार २५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ । विभागका महानिर्देशक भिष्मकुमार भुसालले मागपत्र प्रमाणिकरणमा आएको सुधारसँगै मलेसिया जान श्रम स्वीकृति लिने श्रमिकको संख्या बढदै गएको बताए । मलेसिया खुलेपछि कात्तिकमा २ हजार १ सय र मंसिरमा ४ हजार ९२२ युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । २०५७ कात्तिक ११ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपनि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटमा बिचौलियाको दबाबमा रोजगारी खुल्न सकेको थिएन ।

बाहिर सार्वजानिक नगरिएपनि मलेसियाको मेडिकलमा दुवै देशका बिचौलियाले चलखेल गरी सिमित संस्थाले मात्र पाउनुपर्ने जनाउँदै आएका कारण मलेसिया रोकिएको थियो । एक महिनाअघि मलेसियाका रोजगादाताले विभिन्न ५ वटा क्षेत्रका लागि ३१ हजार २०१ नेपालीको माग पठाएका थिए । सो मागअनुसार थप युवाको श्रम स्वीकृति लिने समय रहेका कारण आगामी महिना संख्या थप हुने देखिन्छ । वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ र समझदारीपत्र बमोजिम मलेसियास्थित नेपाली राजदूतावासले ठूलो संख्यामा मागपत्र प्रमाणित गरेको कारण श्रम स्वीकृतिको आवेदन आउने विभागले जनाएको छ ।

२०१९ अक्टोबर पहिलो हप्तादेखि मलेसिया सरकार र नेपाली नियोगबाट प्रमाणिकरण भएर आएका मागपत्रहरु अभिलेखिकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने कार्य भइरहेको छ । अक्टोबर र नोभेम्बरमा प्रमाणिकरण भएका मागको प्रक्रियागत रुपमा हाल श्रम स्वीकृति लिने काम भइरहेको छ । सो अवधिमा दूतावासमा पेश भएका ९६३ वटा मागपत्रका फाइलबाट ३१ हजार भन्दा बढी संख्याको मागपत्रका बारेमा प्रक्रिया भइरहेको छ । मलेसियाले पछिल्लो पटक औधोगिक क्षेत्रका लागि १७ हजार ११६, सेवा क्षेत्र ९सेक्युरिटी गार्डसहित० का क्षेत्रमा १० हजार १८३, कृषि क्षेत्रका लागि १ हजार ४७५, प्लाण्टेसनमा १ हजार ३९७ र निर्माण क्षेत्रमा १ हजार ३० श्रमिकका लागि माग गरेको थियो ।

मेडिकलको सिन्डिकेट अन्त्य गर्ने सहमतिसँगै अब मलेसिया जाने श्रमिक शून्इ लागत, बिमा, बिदा, समयमा तलब दिनेलगायतका अधिकारसहित नयाँ प्रक्रियाबाट मलेसिया जान पाउने छन् । श्रम सम्झौतामा उल्लेख गरिएका विषयमा सहमति भएपछि नेपाली श्रमिकका लागि असोजदेखि प्रक्रिया पुगेका कागजातका आधारमा विभागले पूर्व श्रम स्वीकृतिको काम सुरु गरेको थियो । विगत १५ महिनादेखि मलेसियाको रोजगारी बन्द भएका कारण लाखौ श्रमिक रोजगारीबाट बञ्चित भएका थिए । गत जेठमा मलेसिया जाने नेपाली श्रमिकमाथि चर्को सेवा शुल्क लिएको जनाउँदै तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जाने प्रक्रियामा सुधार गर्ने जनाउँदै रोकेका थिए । मन्त्रालयले अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आइसी र जीएससी संस्था खारेजी गरेको थियो ।


प्रकाशित | १३ पुष २०७६, आईतवार १६:०४