अन्तर्लाप

राजु खप्तडी बस्नेत

बोल्दिन बोल्न मन लाग्दैन
बोल्दा कतै उच्चारण मिल्दैन
कतै ब्याकरण मिल्दैन
तर म तिम्रै छेउमै हुन्छु
तिमी संगै हुन्छु
कुनै उच्चाइमा बसेर
तिमी र मैले हेर्ने क्षितिज एउटै हुन्छ
घरकै बार्दलीमा सितल हावा खादै
साँझपख हसनाको सुगन्धको स्वाद एउटै हुन्छ
आकाश तिर आँखा डुलाएर
तिमीले र मैले हेर्ने निहारिका एउटै हुन्छ
सब्द सब्द खोजेर बोलिरहनु भन्दा
सब्द सब्द जोखेर तौलिरहनु भन्दा
चुपोलागेरै एक अर्कालाई बुझ्नु
म तिमी भित्र अनि तिमी म भित्र
यसरी आनन्द लिनुको मजै बेग्लै छ
वन हरियाली कस्तुरी सब छ यहाँ
रङ्ग गुलाबी बैजनी इन्द्रेणी सब छ यहाँ
पदार्थ मात्र यथार्थ हैन
अनुभुति भित्र पनि वेदार्थ हुन्छ ।
सब्द कै बाणले यहाँ सब्द नै सिकार छ
तेसैले प्रिय यसपछि बोल्नु बेकार छ
मन मिलेकै छ सोच मिलेकै छ
शान्त छटामा खुसी मिलेकै छ
बरु बोल्दा भान्सा बिग्रिएको उदाहरण छन
मलाई नबोल्दा मन भित्रै मिष्ठान्न परिकार छन

लेखक बस्नेत गैर आवासीय नेपाली संघ (एनआरएनए ) फ्रान्सको सचिव हुनुुहन्छ ।


प्रकाशित | ६ असार २०७७, शनिबार १४:२६