जापान कामदार पठाउने देशमा पाकिस्तान थपियो

टोकियो (जापान) : नेपालसहित १० देशबाट दक्ष कामदार ल्याउने सम्झौतालाई बढाउँदै जापानले त्यो सूचीमा पाकिस्तानलाई थप गरेको छ । कामदार ल्याउने सम्बन्धि समझदारी पत्रमा जापानले सोमबार पाकिस्तानी अधिकारीहरुसँग हस्ताक्षर गरेका छन् ।

पाकिस्तानसँग विशेष दक्ष कामदार ल्याउने समझदारी पत्रमा हस्ताक्षर भएको पाकिस्तान स्थित जापानी दूतावासलाई उदृत गर्दै जापानी समाचार संस्था माईनिचि सिम्बुनले समाचार प्रकाशित गरेको छ । सुरुमा ७ देशबाट आगामी पाँच वर्षमा ३ लाख ४० हजार दक्ष कामदार ल्याउने सम्झौता गरेको जापानले त्यसलाई दुई चरणमा बढाएर १० पु(याएको थियो ।

सोमबारको समझदारीसँगै पाकिस्तान सहित नेपाल, मंगोलिया, ईण्डोनेसिया, फिलिपिन्स, श्रीलंका, उज्बेकिस्तान, भियतनाम, कम्बोडिया, बंगलादेश र थाईल्याण्ड गरेर ११ देशबाट जापानले बाँकी रहेको आगामी साढे ४ वर्षभित्रमा ३ लाख ४० हजार दक्ष कामदार ल्याउनेछ । जापानले घट्दो जनसंख्या र बढ्दो कामदार मागलाई धान्न गत अप्रिल १ तारिखबाट नयाँ भिषा प्रणाली लागू गर्दै ७ देशबाट दक्ष कामदार ल्याउने घोषणा गरेको थियो ।

सो सूचीमा पछि नेपाल थप भएर दुई देशबिच समझदारीपत्रमा हस्ताक्षर भएपनि हालसम्म नेपालबाट एकजना कामदार पनि जापान आइपुगिसकेका छैनन् । यद्यपी नेपालमा केयर गिभर परिक्षा सहित कृषि लगायत अन्य क्षेत्रको भाषा तथा सिप परिक्षाको काम भने अघि बढेको छ । जापानको नयाँ भिषा प्रणाली अनुसार भाषा तथा सिप परिक्षण पास गरेर हालसम्म कोही पनि नेपाली जापान आउन नसके पनि तोकुतेई गिनोउ अन्र्तगत जापानमै रहेका दुई दर्जन बढी नेपालीहरुले भने आफ्नो भिषा परिवर्तन गर्न सफल भएको बताइन्छ ।

स्वास्थ्य सहित कृषि, ईन्जिनियरिङ, सूचना तथा प्रविधि, मस्त्यपालन, होटल रेष्टुरेण्ट, भवन निर्माण लगायत १४ क्षेत्रका विशेष दक्ष कामदार लैजाने विषयमा सम्झौता गर्न जापानी प्रधानमन्त्री शिन्जो आबेका बैदेशिक मामला हेर्ने विशेष सल्लाहकार केन्तारो सोनोउरा पाकिस्तान पुगेका थिए । सोनोउरासँगको भेटमा पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले जापानले दक्ष कामदार आपूर्तिमा आफ्नो देशलाई सहभागी गराएकोमा सम्झौताको तारिफ गरेको समाचारमा उल्लेख छ ।

जापानले दक्ष कामदार आपूर्ती गर्न पाकिस्तानमा रहेका भाषा विद्यालयहरुलाई समेत सघाउँदै भाषा अध्ययनमा सहकार्य गर्ने भएको छ । धेरै भन्दा धेरै पाकिस्तानीलाई जापानमा रोजगारको अवसर प्रदान गर्न तीन देखी ६ महिना सम्मको विशेष जापानी भाषा कक्षा तथा पाठ्यक्रम तयार पारेर अनलाइन अध्ययन विधिलाई समेत प्रभावकारी बनाउने जापान सरकारको तयारी छ ।

पाकिस्तानले केही बर्षयता रोमानिया, संयुक्त अधिराज्य बेलायत सहित केही युरोपियन देशहरुमा दक्ष कामदार आपूर्ती गर्दै आएको छ । जर्मनीको लागि समेत प्रक्रिया अघि बढिसकेको पाकिस्तानी प्रधानमन्त्रीका विदेशमा रहेका पाकिस्तानी र मानव संशाधन विकास सल्लाहकार सैयद जुल्फिकर अब्बस बुखारीलाई उदृत गर्दै पाकिस्तानी समाचार संस्था ट्रिव्युन अनलाइनले उल्लेख गरेको छ । कारोबार दैनीक


प्रकाशित | १० पुष २०७६, बिहीबार १६:५५