नारितामा नेपाल एयरलायन्सले मार्च २ बाट साताको तीन दिन उडान भर्ने

जापान : राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सले नारिता अन्तर्राष्ट्रिय बिमानस्थलबाट साताको तीनदिन उडान भर्ने भएको छ । नेपाल वायुसेवा निगमले सन् २०२० को मार्च २ तारिखबाट साताको तीनदिन नारिता बिमानस्थलबाट उडान गर्ने सुनिश्चित भएको हो ।

नेपाल एयरलाईन्स जापान कन्ट्रि डाईरेक्टर सन्तोष पाण्डेका अनुसार साताको तीनदिन सोमबार, बुधवार र शुक्रबार उडान गर्नेगरि नेपाल एयरलाईन्सले अनुमति पाएको जानकारी दिनुभयो । जापान सिभिल एभिएसनमा सम्पूर्ण प्रक्रिया पुरा गरेर बिहिबार सबै कागजात हस्तान्तरण गरिएको छ ।

केही दिनभित्रमानै टिकट बुकिगं खुल्ला गर्नेगरि साताको तीनदिनको लागि उडान पक्रिया अघि बढाईसकिएको पाण्डेले बताउनुभयो । जापान सिभिल एभिएसनबाट प्रक्रिया पुरा गराउन खटिंदै आउनुभएका पाण्डेले भन्नुभयो हवाई भाडादर ओसाकाको तुलनामा थोरै बढी भएपनि नेपालसम्म उडान भर्दै आएका बिदेशी बिमान कम्पनीहरुको भन्दा महंगो नहुने बताउनु भयो ।

नेपाल एयरलाईन्स काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट मार्च २ तारिख नेपाली समय अनुसार बिहान १ बजेर २५ मिनेटमा जापानको लागि उड्ने छ । बिमान नारिता बिमानस्थलमा जापानी समय अनुसार बिहान ११ बजे अवतरण हुनेछ ।

११ बजे अवतरण भएको बिमान जापानबाट यात्रु बोकेर मध्यान्ह १ बजे नेपालको लागि छुट्नेछ । नेपालको समय अनुसार बिमान साँझ ६ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण हुने जनाएको छ । बिमानलाई एकतर्फी उडान समय करिव ६ घण्टा ३० मिनेट लाग्ने छ ।


प्रकाशित | ५ पुष २०७६, शनिबार २१:५२